• १५ चैत २०८०, बिहिबार

बाँकी जीवन विकास र समृद्धिमा खर्चिने छु : प्रचण्ड

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, असोज ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन नेपाली जनताको समृद्धि र मुलुकको विकासमा खर्चिने बताउनुभएको छ। आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको भन्दै अब विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता जनाउनुभयो।

सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शøयाको सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले जनतालाई अधिकार सम्पन्न बनाउन तल्लो तहलाई अझ अधिकार दिनुपर्ने धारणा राख्नुभयो।

“मैले गठबन्धनभित्र पनि जनतालाई अधिकार प्रदान गर्न छलफल गर्ने गरेको छु, सङ्घीय निजामती ऐन र सुरक्षा ऐन बनाउन बाँकी छन्, अब यी अभिभारा पूरा गर्छु,” उहाँले भन्नुभयो। फेरि एक पटक देशको कार्यकारी प्रमुख हुने सङ्केत गर्दै उहाँले भन्नुभयो, “जनयुद्ध र शान्ति प्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहना छ।” 

सगरमाथामा सेल्फी खिच्न पर्यटक आउने

सोही कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले केही वर्षमा विश्वका हजारौँ मानिस सगरमाथामा सेल्फी खिच्न आउने बताउनुभएको छ। संविधानको रक्षामार्फत अब आर्थिक क्रान्तिमा होमिनुपर्ने भन्दै समाजवादी अर्थतन्त्रको आधार तयार गर्ने काम यस वर्षको बजेटले सुरु गरेको बताउनुभयो। 

अबको अन्तिम लक्ष्य समाजवादी मुलुक निर्माण रहेको भन्दै सोहीअनुसार मुलुकको अर्थतन्त्र चलायमान हुने उहाँको भनाइ छ। “कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याएको छु, अब मुलुकमा रोजगारी सिर्जना हुन्छ, गरिबीको अन्त्य हुन्छ, स्थानीय तह सम्पन्न हुनेछन् र विकासले नयाँ गति लिने छ,” उहाँले भन्नुभयो। उहाँले बाँझो जमिनमा खेती गर्ने योजना ल्याइएको र अधिकांश बजेट पालिका मार्फत आउने भएकाले जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो। यस वर्षको बजेटले डिजिटल शिक्षालाई अघि सारेकाले सबै विद्यालयमा एकै खालको गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने बताउनुभयो। सबै तहमा सुविधा सम्पन्न अस्पतालसहित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

दूूधकोसी सामुदायिक अस्पताल १५ करोड रुपियाँ, बहुप्राविधिक शिक्षालय पाँच करोड रुपियाँ र गाउँपालिकाको प्रशासनिक भवन पौने सात करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असीम राईले जानकारी दिनुभयो। सुविधासम्पन्न अस्पताल जनताबाट चन्दा उठाएर बनाएको भन्दै अध्यक्ष राईले महायज्ञ लगाएर जनताको एकताको बलले करोडौँको अस्पताल बनाउन सफल भएको बताउनुभयो। पछिल्लो समय आस्था, जाति र लिङ्गको आधारमा विभक्त भएको समाजमा यी सबै कुराको एकताका कारण मात्रै भौतिक संरचना निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो, प्रदेश १ मा पूर्वराज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखको सहभागिता थियो। सो अवसरमा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङलगायतलाई सम्मान गरिएको छ।