• ८ वैशाख २०८१, शनिबार

निर्वाचन अधिकृत सिफारिस

blog

काठमाडौँ, असोज ४ गते । न्याय परिषद्ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ । 

परिषद्को निर्णयअनुसार ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरिएको छ । एकभन्दा बढी न्यायाधीश रहेको जिल्लाको हकमा मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गर्ने प्रचलन छ । यस्तै परिषद्ले १७ जना जिल्ला न्यायाधीशलाई जगेडामा सिफारिस गरेको छ । यस्तै परिषद्ले न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ कर्मचारीलाई निर्वाचन अधिकृतमा सिफारिस गरेको छ । 

यस्तै २० जनालाई जगेडामा सिफारिस गरिएको परिषद्द्वारा जारी सूचनामा उल्लेख छ । नियमित रूपमा सिफारिस भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउन कुनै समस्या परेमा जगेडा सूचीबाट खटाइने अभ्यास छ । 

निर्वाचन आयोगले प्रत्यक्षतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोभन्दा अघि निर्वाचन कार्यालय स्थापित हुनेछन् ।