पशुपतिनाथमा सिधै फूल, प्रसाद

pashupatiकाठमाडोँ, जेठ १७ गते ।  पशुपतिनाथ मन्दिरमा भक्तजनले सिधै फूल, प्रसाद अर्पण गर्न पाउने भएका छन् ।   विसं २०६८ चैत २६ गते पशुपति मन्दिर व्यवस्थापन नियमावली लागू भएयता भेटी पारदर्शी गर्ने क्रममा भक्तजनले चढाएको फूल, प्रसादलाई मन्दिरको ढोका बाहिर खटिएका पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मीले नगद भेटी दानपात्रमा राखेर प्रसाद पशुपतिनाथका भण्डारी पूजारीलाई दिने व्यवस्था थियो ।
भक्तजनले सिधै फूल, प्रसाद चढाउन नपाउँदा आस्थामा गम्भीर चोट पुगेको भन्दै सर्वोच्च अदालतमा कानुन व्यवसायी राजीव सिन्हाले दिनुभएको रिट उपर सर्वोच्च अदालतले भक्तजनले सिधै फूल, प्रसाद अर्पण गर्ने व्यवस्था गर्न कोषको नाममा परमादेश जारी गरेको थियो ।  सोही आदेश कार्यान्वयनको सिलसिलामा शनिबारदेखि यस्तो व्यवस्था लागू गरिएको छ ।  
पशुपति मन्दिर प्रशासन हेर्ने अधिकृत कमलबहादुर बोगटीका अनुसार फूलपाती सिधै अर्पण गर्न पाइने भए पनि नगद वा जिन्सी भेटी मन्दिरभित्र र बाहिर रहेका दानपात्रमा खसाल्ने व्यवस्था गरिएको छ ।  
कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार मन्दिर भित्र गएका भेटी पालोवाला मूलभण्डारी नै जिम्मेवार रहने गरी मन्दिरभित्र रहेको दानपात्रमा राख्ने व्यवस्था गरिएको छ ।
डा. टण्डनका अनुसार मूलभट्टसहित चार पूजारी तथा भण्डारीको पारिश्रमिक भत्ता तथा तोकिएका अन्य सुविधा खर्च कटाई भेटीघाटी व्यवस्थापन नियमावली लागू भएयता छ करोड रुपियाँ भेटी कोषलाई प्राप्त भएको छ ।  
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले भण्डारी तथा मूलपूजारीका हातमा परेका भेटी दानपात्रमा राख्ने इमानदारी उहाँहरूमा रहनु आवश्यक रहेको बताउनुभयो ।  
कोषले उहाँहरूको हातमा पर्न आएका नगद तथा जिन्सी भेटी नियमअनुसार दानपात्रमा प्राप्त हुन्छ भन्ने विश्वास लिएको छ ।  वासुकी मन्दिरमा पनि यही प्रक्रिया लागू हुँदैछ ।  
यो व्यवस्था लागू भएपछि पनि भक्तजनले फूलपाती भण्डारी तथा पूजारीलाई र नगद जिन्सी भेटी मन्दिर बाहिर राखिएको दानपात्रमा खसालेका छन् ।  
लालगणेश, कीर्तिमुख भैरव, उन्मत्त भैरव, बुढानीलकण्ठ लगायत परिसरका मन्दिरमा पनि अधिकांश भक्तजनले दानपात्रमै भेटी अर्पण गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना