एकीकरणभित्रको निहितार्थ

Shreeman श्रीमननारायण



देशका राजनीतिक दलहरू विभाजित भएर विभिन्न टुक्रामा राजनीति गर्नु देशको राजनीतिक स्थायित्वको निम्ति लाभदायक सावित हुन सक्दैन ।  विभिन्न टुक्रामा विभाजित भएर बस्नुभन्दा एउटा छातामुनि बस्नु उपयुक्त होला भन्ठानेर नेपाल कम्युनिष्ट पार्टी माओवादीका विभिन्न घटक पुनः एकजुट हुन पुगेका छन् ।  समयको आवश्यकता अथवा बाध्यात्मक परिस्थितिका कारण भए पनि यस एकीकरणलाई सकारात्मकरूपमा लिन सकिन्छ ।  विगत चार वर्षमा विभिन्न टुक्रामा विभाजित भई राजनीति गरिरहेका माओवादीका यी घटकहरूलाई एकै ठाउँमा ल्याउने प्रयास अथवा परिश्रम गरेर एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दूरदर्शिता देखाउनुभएको छ ।  यस एकीकरणको प्रभाव नेपालको राष्ट्रिय राजनीतिमा तत्काल त्यति बढी नदेखिए पनि माओवादीका नेता एवं कार्यकर्ताहरूलाई हौसला बढाउने काम अवश्य पनि गर्नेछ ।  
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको टुट–फुटको बारेमा एकपटक टिप्पणी गर्दै सो पार्टीका नेता तथा ख्यातिप्राप्त साहित्यकार क्षेत्रप्रताप अधिकारीले राप्रपालाई ‘जन्मजात जुम्ल्याहा’ पार्टीको संज्ञा दिनुभएको थियो ।  संयोगले वर्तमानमा पनि यस पार्टीको परिस्थितिमा ताìिवक अन्तर देखिएको छैन ।  हुन त राप्रपा एकीकरणको चर्चा पनि उत्कर्षमा छ तर यसको विगतलाई हेर्दा बढी आशावादी हुने आधार छैन ।  नेपालका वामपन्थीहरूको सम्बन्धमा पनि यही टिप्पणी गर्नु उचित हुने छैन तर आपूm पार्टीको अध्यक्ष एवं महासचिव बन्ने तथा पार्टीको नेतृत्व आफ्नो हातमा आएपछि आपूmखुसी काम गर्ने उच्च राजनीतिक महìवाकांक्षा कतिपय नेताहरूको मनमा आएपछि पार्टीहरू चोइटिने गरेका छन् ।  काम गर्नका निम्ति पद नै चाहिन्छ भन्ने आवश्यक छैन तर पद भनेको आफ्नो चाहनाअनुसार काम गर्ने लाइसेन्स अवश्य पनि हो ।  विभिन्न धारमा विभाजित रहेका माओवादी समूह पार्टी एकीकरणपश्चात् एकै ठाउँमा उभिएका छन् ।  यसमा झन्डै–झन्डै मधेसवादी दल बन्न पुगेका मातृका यादवको पार्टीदेखि लिएर पुनः सशस्त्र सङ्घर्ष गर्ने घोषणा गरेर हिँडेका विप्लवको पार्टीका असन्तुष्ट नेताहरू पनि सहभागी छन् ।  एकीकरणपश्चात् पार्टीको नाम नेकपा (माओवादी केन्द्र) हुन गएको छ ।  एकीकरणमा सामेल दलहरूले यसलाई एकीकरण अथवा पार्टी एकता नभनी नयाँ पार्टी गठनको संज्ञा दिएका छन् ।  अङ्गुर, द्राक्षाफलम्, ग्रेप्स जे भने पनि स्वाद र भाव एउटै हो ।  
निकै कम समयमा एक दर्जन टुक्रामा विभाजित हुन पुगेका एकीकृत नेकपा माओवादीका घटकमध्ये नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट केन्द्र नेपाल, देशभक्त सङ्घीय मोर्चा, वामपन्थी एकता समूह, गौरवशाली पार्टी नेपाल, नेकपा माओवादी विद्रोहीलगायत दस पार्टी÷समूह यस एकीकरणमा सहभागी भएका छन् तर नेपालको माओवादी आन्दोलनका चर्चित नेताहरू तथा पार्टी यसमा सहभागी भएका छैनन् ।  दाबी गरिएअनुसार त्यस्ता पार्टीका बहुमत केन्द्रीय नेता पनि यस एकीकरण प्रक्रियामा सामेल भएका छन् ।  मोहन वैद्य र सिपी गजुरेलजस्ता नेताहरू पनि नेपालको माओवादी राजनीतिका चर्चित हस्ताक्षरहरू हुन् तसर्थ यी नेताहरूको अभाव महसुस भइनै रहनेछ ।  नेकपा–माओवादी पार्टी यस एकीकरण प्रक्रियामा सहभागी भइदिएको भए यो बढी उपयोगी सावित हुने थियो ।  एक वर्षअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा सहभागी भई आन्दोलन सुरु भएको दुई दिनमै त्यसबाट आपूmलाई अलग पारेको यस पार्टीले झन्डै एक वर्षपश्चात् पुनः सङ्घीय गठबन्धनको आन्दोलनलाई सहयोग एवं समर्थन गर्ने निर्णय गरेको छ ।  हुन पनि काङ्ग्रेससँग यो पार्टी जानै सक्दैन ।  बाँकी दलहरू सरकारमै छन् ।  यस्तो अवस्थामा सडकमा रहेका दलहरूप्रति सहयोग, समर्थन एवं सद्भाव व्यक्त गर्नु मोहन वैद्यको निम्ति स्वभाविक नै हुन जान्छ ।  
त्यसैगरी पार्टीका एक अन्य प्रभावशाली नेता नेत्र विक्रम चन्द ‘विप्लव’ ले पनि पार्टीको संस्थापन पक्षमाथि विभिन्न किसिमको आरोप लगाउनुभएको छ र यो क्रम अझै जारी छ ।  एक दशकसम्म सशस्त्र सङ्घर्षमा होमिएका कार्यकर्ताहरूमाथि अन्याय भएको भन्दै माओवादीका पूर्व लडाकु एवं असन्तुष्ट कार्यकर्ताहरूलाई उत्तेजित एवं आक्रोशित पार्दै भावनात्मकरूपमा आपूm नजिक ल्याउन चाहिरहनुभएको छ ।  यस अभियानमा केही हदसम्म उहाँ सफल पनि हुनुभएको छ ।  पार्टीका युवा, अयोग्य लडाकुहरू तथा विभिन्न कारणले थिचोमिचोमा परेका माओवादीका पार्टीका नेता एवं कार्यकर्ताहरू बडो उत्साह एवं धैर्यका साथ विप्लवको कुरालाई सुनिरहेका छन् जुन कि देशको स्थायी शान्तिको निम्ति लाभकारी अवश्य पनि छैन ।  नेत्र विक्रम चन्दलगायतका नेताहरूले पार्टीभित्र ठूलो आर्थिक अनियमितता भएको, पार्टीका लडाकु नेताहरूको नाममा आएको सहयोग राशिको दुरुपयोग भएको, जनयुद्धकालीन मुद्दाहरूलाई ब्युँत्याउन लगाई पार्टीका नेताहरूमाथि कारबाही हुने षड्यन्त्र भइरहेको, जनयुद्धको मर्म एवं भावनाविपरीत काम भइरहेको तथा पार्टीले समर्पणवादी नीति लिएको जस्ता विभिन्न आरोप लगाउँदै आएका छन् ।  झन्डै एक दर्जन माओवादी घटकहरूको एकीकरण भएको भोलिपल्ट नै विप्लवले राजधानीमा जनसभा गरी समानान्तर सरकार चलाउने घोषणा सगर्व गर्नुभयो ।  जनयुद्धकालीन संरचनाहरूलाई पुनः अस्तित्वमा ल्याउने घोषणा दुर्भाग्यपूर्ण मात्रै होइन अपितु अहिलेसम्म सफल मानिंँदै आएको सम्पूर्ण शान्ति प्रक्रियामाथि नै यसले औंला ठड्याउने काम गरेको छ ।  सम्भव भए विप्लव एवं वैद्य नेतृत्वको पार्टीलाई पनि यसैमा समाहित गर्न वा गराउन सकिए प्रचण्डको नेतृत्व क्षमता झन् प्रशंसनीय हुन पुग्ने थियो ।  
प्रचण्डकै समकक्षी मानिँदै आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निकै टाढा गइसक्नुभएको छ तथा उहाँको पार्टी यस एकतामा सहभागी हुन नसक्ने निश्चितप्रायः छ ।  डा. बाबुराम भट्टराई, मोहन वैद्य एवं नेत्रविक्रम चन्दविनाको माओवादी पार्टी लवणविनाको व्यञ्जनजस्तै लागिरहेको छ ।  एकीकरणसँगै पार्टीको केन्द्रीय समितिलाई विशालकाय बनाइएको छ ।  ६÷७ सय जनाको हाराहारीमा केन्द्रीय समिति बनाइनुको बाध्यात्मक परिस्थितिलाई सजिलै बुझ्न सकिन्छ तर कठोर अनुशासनको निम्ति चर्चित तथा एक दशकसम्म सशस्त्र सङ्घर्ष गरेका पार्टीको नेता यति बढी सम्झौतावादी हुनुको दूरगामी परिणाम सुखद् एवं सकारात्मक नहुने निश्चितप्रायः छ ।  महाधिवेशन आयोजना गरी पार्टीलाई नयाँ स्वरुप प्रदान गर्ने मनसायले केन्द्रीय समितिलाई भीमकाय बनाइएको तर्क तत्कालका निम्ति सुपाच्य भए पनि पार्टी महाधिवेशनपश्चात् पनि यसै आकारको समितिलाई निरन्तरता दिनु नेतृत्वको बाध्यता हुन जानेछ ।  तत्काल पदाधिकारीका नियुक्ति पनि विवाद चरम सीमामा पुगिसकेको मानिँदैछ ।  एकपटक सम्झौता गर्न तयार भइसकेको व्यक्तिले सम्झौताको निम्ति पटक–पटक घुँडा टेक्नुपर्ने अवस्थालाई हृदयङ्गम गरी सोहीअनुसारले काया (शरीर)लाई लचिलो बनाउनु उपयुक्त हुनेछ ।  जम्बो केन्द्रीय समितिमा बैठकको गाम्भीर्य समाप्त हुन जान्छ ।  पार्टी लोकतन्त्र समाप्त भएर जान्छ ।  पार्टी नेतृत्वले मनपरी गर्न छुट पाउँदैन ।  बैठकमा कोरम नै पुगेन भन्दै पार्टी नेतृत्वले जथाभावी निर्णय गरेमा पनि त्यसको प्रतिवाद गर्ने आधार हुँदैन ।  भनिन्छ, गरिबीमा भोक बढी लाग्दछ तथा एकपटक चोट लागेको ठाउँमा नै पटक–पटक चोट पनि लाग्ने गर्दछ ।  तसर्थ एकपटक विभाजित भइसकेको पार्टी पुनः विभाजित हुने सम्भावना पनि कायमै रहन्छ ।  
एक दशकसम्म सशस्त्र सङ्घर्षको नेतृत्व गरेका, युद्धबाट पार्टीलाई शान्ति प्रक्रियामा अवतरण गराएका, संविधानसभाको पहिलो निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाएको खुबी र विशेषता यदि प्रचण्डका सकारात्मक पक्ष हुन् भने उहाँकै नेतृत्वकालमा पार्टी एक दर्जन टुक्रामा विभाजित भएको, एक नम्बरबाट पार्टी तेस्रो नम्बरमा पुगेको र स्वयं उहाँको राजनीतिक उचाई तथा स्वीकार्यता र विश्वसनीयतामा पनि ह्रास आएको अनुभूति गरिंँदैछ ।  सरकार सञ्चालनको निम्ति गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको संस्थापक भएको नाताले अब उहाँले समस्या देखाउने होइन समाधानको बाटो देखाउने बेला आएको छ ।  देशमा जारी आन्दोलनलाई पनि सफलतापूर्वक अवतरण गर्न लगाउनु र देशलाई राजनीतिक स्थायित्व एवं समृद्धिको दिशामा डो¥याउनु उहाँको पनि जिम्मेवारी हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना