• ६ चैत २०८०, मङ्गलबार

उपत्यका प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना तयार

blog

फाइल तस्बिर

काठमाडौं, असोज ३ गते । उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । 

उहाँका अनुसार प्रहरी र नागरिकको जिम्मेवारी बराबर शान्ति सुरक्षामा प्रहरीको सरोकार हुने भएकाले सम्पूर्ण उपत्यका बासीलाई सुरक्षित र सचेत रहन अनुरोध गरिएको छ । सुरक्षा योजनाका लागि प्रत्येक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको बिवरण राख्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “नाम थर, स्थायी वतन र फोटोसहितको बिवरण राख्दा भोलि हुने जुनसुकै घटनाका लागि सहज हुन्छ ।” भोलि के हुन्छ । कसैलाई थाहा नहुने हुँदा सतर्कताका लागि प्रहरीले बिवरण राख्न सबैलाई अनुरोध गरेको उहाँले बताउनुभयो ।  

प्रहरीले आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा बैंक बित्तीय संस्था, भीडभाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको संख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउने तयारी गरेको प्रहरीले बताएको छ । 

दशैँ मान्न गाउँ जाने सर्वसाधारणको संख्या बढी हुनेभएकाले बस्दैआएको घर तथा डेरालाई लक्षित गरेर प्रहरी परिचालन हुने प्रवक्ता मैनालीले बताउनुभयो । 

प्रहरीको विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी सुरक्षाकर्मी परिचालित हुनेछन् । दशैँ मान्न गाउँ जाने सर्वसाधारणको संख्या बढी हुनेभएकाले बस्दैआएको घर तथा डेरालाई लक्षित गरेर प्रहरी परिचालन हुने प्रवक्ता मैनालीले बताउनुभयो । जुवा, तास खेल्ने बारेमा प्रहरीलाई समयमै खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्दै लागूऔषध, नशालु पदार्थ सेवन तथा वेचविखन गर्नेबारे पनि प्रहरीलाई जानकारी गराउन उहाँको अनुरोध गर्नुभयो । मादक पदार्थ सेवनगरी सवारी साधन चलाउनेलाई कडा कारबाही गर्ने भन्दै जथाभावी पार्किङ नगरी ट्राफिक नियमको पालना गर्न सबैमा उहाँले अनुरोध गर्नुभयो ।  

मैनालीका अनुसार कुनै अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने नचिनेको व्यक्तिले घरको ढोकामा आवाज दिएमा नखोल्ने, आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन र सिसिटिभी क्यामेरा जडान गरी सुरक्षित रहनु पर्नेछ । विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने, नगदबाट गर्नुपर्दा उच्च सावधानी अपनाउने र धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।  

रातको समयमा घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्ने, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्ने, सकेसम्म नगद, बहुमुल्य सामान र गरगहनाहरु घरमा नराख्ने, दशैं तिहारका लागि गाउँ जानलागेको उल्लेखगरी सामाजिक सञ्जालमा पोष्ट नगर्नसमेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

दशैं तिहारका लागि गाउँ जानलागेको उल्लेखगरी सामाजिक सञ्जालमा पोष्ट नगर्नसमेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रहरीले व्यापारिक प्रतिष्ठानमा सर्वसाधारणको भीड हुने भएपछि सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने तयारीगरेको जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले उपत्यकामा हुने ठूला चोरीको अनुसन्धान गर्दैआएको छ । अनुसन्धान गर्दा चाडपर्वको समयमा चोरको मुख्य टार्गेट गरगहना र पैसा हुनेगरेको छ । यसकारण चोरले दिउँसोको समयमा बढी चोरी गर्दै आएकाले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र राति १ बजेदेखि ३ बजेसम्म चोरीका घटना बढी हुने प्रहरीको भनाइ छ ।

यो समयमा सर्वसाधारणलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ । घर छोड्दा छिमेकीलाई जानकारी गराउन पनि प्रहरीको अनुरोध छ । चाडपर्वमा मानिसहरु जिल्ला जाँदा उपत्यकाको घर डेरा सुनसान हुने र त्यहीबेला चोरहरु बढी सक्रिय हुनेगरेकाले सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।