• ६ चैत २०८०, मङ्गलबार

नेपाली कांग्रेसले समानुपातिक बन्दसूची आयोगमा बुझायो

blog

सत्तारुढ दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज ३ गते । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधान दिवसकै दिनमा आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको जानकारी दिनुभयो ।

बन्दसूची दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “सङ्घमा समानुपातिकतर्फ ११० जनाको र सातै प्रदेशमा, नेपाली कांग्रेसको संसदीय बोर्डको निर्णय र आजै बसेको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम बुझाएका छौँ । प्रतिस्पर्धामा त गइरहेकै छौँ, यो अवसरलाई उपयोग गरेर आफ्नो अभिमत जोहेर गर्न अपिल गरेका छौँ र कांग्रेसलाई नेपाली जनताले मत दिएर विजयी गराउँदै हुनुहुन्छ भन्नेमा विश्वस्त छौँ ।”

उहाँले प्रतिस्पर्धामा रहेका दललाई पनि लोकतान्त्रिक संस्कृतिका साथ इमानदारितापूर्वक स्वस्थ प्रतिस्पर्धाका लागि आह्वान गर्नुभयो ।

“समानुपातिकतर्फको सूची बुझाएका छौँ । २० दिनपछि प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने क्रममा छौँ । यससँगै घोषणापत्रमार्फत नेपाली कांग्रेसको नीतिलाई अबको पाँच वर्षभित्र कसरी अगाडि बढाउने भन्ने तय हुनेछ । आज बढो उत्साहपूर्वक दर्ता गरेका छौँ”, उहाँले देशभरबाट हजारौँ आकांक्षी रहनुभएको र आठ सय जनाको सिफारिस प्राप्त भएकोमा क्लष्टर अनुसार योग्य उम्मेदवारको बन्द सूची तयार गरिएको बताउनुभयो । 

बन्दसूची पेस गर्न कांग्रेस महामन्त्री शर्मासहित सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायलगायतका नेता आयोगमा पुग्नुभएको थियो ।