• १६ चैत २०८०, शुक्रबार

समानुपातिक बन्द सूची आजै बुझाई सक्न प्रमुख आयुक्त थपलियाको आग्रह

blog

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सूचि दर्ता गर्ने कार्यबारे जानकारी लिन निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया । तस्बि: रत्न श्रेष्ठ/रासस

काठमाडौं, असोज ३ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्द सूची सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले आज (सोमबार) अपराह्न ५ बजेभित्र आयोग परिसरभित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्द सूची बुझाए राम्रो हुने धारणा राख्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘विगतको अनुभवलाई हेर्दा त भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौँ । तर हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाहिँ लोकतन्त्रलाई सुदृढीकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुन दिँदैनौँ ।’’

आयोग परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आयुक्त थपलियाले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता  व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘आयोग परिसर छिरेका सबै राजनीतिक दलले यही बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ । हामीले आज यति बजेभित्र भनेर तोकिसकेका छैनौँ । तैपनि सामान्यतया: पाँच बजेभित्र उहाँहरूले आइपुगेर सो सबै काम थालेर आजै सकिदिए हुन्थ्यो भन्ने  हाम्रो भनाइ छ ।’’

उहाँले राजनीतिक दलहरूले आजै सो सूचि बुझाउन नसके भोलि (मङ्गलबार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरूले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उहाँको भनाइ छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्द सूची बुझाउनका लागि हिजो र आज दुई दिनको समय दिएको थियो ।

निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरूलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नामहरू सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिनेछ ।

त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । उहाँका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ । सार्वजनिक भएको ती नामावली अनुसार दलहरूले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरू निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ ।

निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचनसम्बन्धी सबै कामहरू अघि बढाउन प्रतिबद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।