• ६ चैत २०८०, मङ्गलबार

खेलकुदमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थमन्त्री शर्मा

blog

खेलकुदमा निजी क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरु । तस्बिर : राखेप

काठमाडौं, असोज ३ गते । अर्थमन्त्री जनार्दन शर्माले खेल क्षेत्रको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदलाई विचार गरी स्राेत परिचालन उपसमितिले निजी क्षेत्रलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरेको ‘खेलकुदमा निजी क्षेत्रको भूमिका विषयक छलफल’ कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुदमा ठूला लगानी गरिरहेको र थप विकासका लागि निजी क्षेत्रलाई आकर्षण गर्ने खालका नीति नियमलाई अगाडि ल्याउन राज्यले पहल गर्नुपर्ने बताउनुभयो । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको प्लेटफर्ममा निजी क्षेत्रलाई समावेश गर्नुपर्ने र खेललाई राष्ट्रिय गौरव, राष्ट्रको पहिचान, राष्ट्रको लागि खेल र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ अगाडि बढेको मूल अभियानसँग निजी क्षेत्रलाई एकाकार गरेर लैजानुपर्ने बताउनुभयो । मन्त्री गहतराजले खेल क्षेत्र पनि एक उद्योग रहेको भन्दै यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको क्षेत्रका लागि एउटा नयाँ सुरुवातको थालनी गरेकोमा खेलकुद परिषद्लाई आभार व्यक्त गर्नुभयो । उहाँले विश्वका कैयन देशमा निजी क्षेत्रको सहभागिताका कारण खेल क्षेत्रले उन्नति गरेको पनि बताउनुभयो । 

उपसमितिका संयोजक एवं बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम बारे जानकारी दिने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले निजी क्षेत्रलाई पर राखेर खेलकुदको विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो ।