• ८ वैशाख २०८१, शनिबार

कात्तिकबाट बागमतीमा सफा पानी : धाप परियोजनाको काम ९८ प्रतिशत सकियो

blog

फाइल तस्बिर

काठमाडौं, असोज ३ गते । बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ ।

काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ ।

समुद्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो ।

उपत्यकाको उत्तर–पश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपियाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षायाममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी सङ्कलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो ।

निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ ।

आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थालाई दृष्टिगत गरेर धाप निर्माण गरेको बताउनुभयो ।

बागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरूको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरिएको उहाँको भनाइ छ । उहाँले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘गोकर्णेश्वर वडा नम्बर १ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको धाप हो । यो आयोजना सुरु गर्नुको मुख्य उद्देश्य काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । त्यसै सन्दर्भमा जाइकाले लामो समयदेखि अध्ययन गरेर काठमाडौं उपत्यकामा आउने मेलम्चीको पानी आइसके पनि बागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा प्लान्टहरू बनाउनुपर्ने र प्लान्टबाट बागमतीमा पठाइसकेपछि पनि नुहाउन योग्य बनाउनका लागि ४५० लिटरजति फ्रेस वाटर मिसाउनुपर्ने जाइकाको अध्ययनले देखायो ।’’

धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउन योग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जाइकाको अध्ययनले देखाएको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा यो अभियान सुरु भएको बताउनुभयो ।

प्रमुख इन्जिनियर छतकुलीले भन्नुभयो, ‘‘बागमती परियोजनामा बागमती कार्ययोजनाले पनि बागमती नदीमा पानीको गुणस्तर र मात्रा बढाउनको लागि प्रमुख उद्देश्यको रूपमा बागमती कार्ययोजनाले लिएको छ । सोही अनुरूप एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा यो सुरु भयो । यो भन्दा तल बागमती ड्यामको आयोजना सुरु गर्ने भनेर काम थालियो । अहिले यो परियोजनाको ९८ प्रतिशत काम सकिएको छ ।’’

मुख्य ड्याम र सहायक ड्यामहरू पनि निर्माण भई पानी जम्मा गर्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो । सुरुमा आठ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसको मुख्य ड्याम र सहायक ड्यामहरू पनि निर्माण भई पानी जम्मा गर्न सुरु गरिएको छ । २०८३.५ जतिको हारहारीमा पानीको लेभल पुगिसकेको छ । यसमा हामीले सुरुमा आठ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेका थियौँ । तर त्योभन्दा धेरै पानी उपलब्ध हुने अध्ययनले देखाएको छ ।’’

उहाँले धाप क्षेत्र पर्यटन प्रवर्धनका लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको बताउनुभयो । यस कारण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । भ्याट बाहेक ४५ करोड रुपियाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपियाँ बढी रकममा धाप निर्माण सुरु गरिएको बताउनुभयो ।

उहाँले अक्टोबर १५ पछि बागमतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख गर्नुभयो । ८ महिना ४० लिटर बगाउन सक्ने अनुमान गरेर धाप निर्माण गरे पनि नागमति धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने बताउनुभयो । बागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने र सीमित पानीले अनुभव गर्नसक्ने गरेर बागमतीमा पानी प्रवाह नहुने उहाँले बताउनुभयो । धापबाट पठाएको पानी पशुपति आर्यघाटमा आम सर्वसाधारणले पनि गर्ने गरेर पठाउनुपर्ने उहाँको भनाइ छ । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरूमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउनेछौँ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सुरु भएको हो । धाप ड्याम निर्माण भएको हो । भ्याट बाहेक ४५ करोड, भ्याटसहित ५१ करोड हुन्छ ।  ८४ प्रतिशत ऋण र बाँकी १६ प्रतिशत नेपाल सरकारले व्यहोर्ने गरेर सुरु भएको छ । फिल्डमा गर्नुपर्ने कामहरू अधिकांश सकिएको छ । अक्टोबर १५ पछि बागमतीमा धापको पानी प्रवाह गर्ने योजना छ । ८ महिना ४० लिटर बगाउन सक्ने अनुमान छ ।’’

प्रमुख इन्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताउनुभयो । धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भए पछि क्रमशः पानी छोड्दै जाँदा बागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत् निकाल्ने उद्देश्य  छ भने बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ । प्रस्तावित नागमति बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनः भरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगरपालिकाको पर्यटन व्यवसाय फस्टाउने सहजै अनुमान गर्न सकिन्छ ।