• ६ चैत २०८०, मङ्गलबार

‘संविधानको पूर्ण कार्यान्वयनले मात्रै समृद्धि: मुख्यमन्त्री भट्ट

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्बिरः गोरखापत्र

गोदावरी (कैलाली), असोज ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पूरा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको  बताउनुभएको छ । धनगढीमा आयोजित संविधान दिवस २०७९ मूल समारोह कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताउनु भएको हो । 

नेपालको संविधान विश्वकै उतिकृष्ठ संविधान भए पनि यसको कार्यान्वयनमा ढिलासुस्ती वा लापरबाही हुनु नपर्ने बताउनुभयो । संविधानको सफल कार्यान्वयनका लागि तीन तहकै सरकार, राष्ट्रसेवक कर्मचारी र नागरिक सबैले आ आफ्नो दायित्व बोध गरी लाग्नुपर्ने उहाँको भनाइ छ ।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनाका निम्ति नेपाली जनताले पटक पटक गर्दैआएका जनआन्दोलन तथा सशस्त्र सङ्घर्षमा शहादत प्राप्त सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मान तथा भावपूर्ण श्रद्धासुमन प्रकट गर्दै उहाँले संविधानले परिकल्पना गरेका प्रावधानहरूको संस्थागत विकास गर्नेक्रममा प्रदेश सरकार सबै प्रकारका ऐन कानुनहरुलाई जनताको भावना र मर्मअनुसार जनताकै घर आगनमा अनुभूत दिलाउने कार्यमा लागिपरेको बताउनुभयो । 

‘संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित र समृद्धिमा एकजुट भई लागिपर्न हामी सबैलाई प्रेरित गरेको सुखद अनुभूति भएको र यस अवसरमा प्रदेश सरकार सुदूरपश्चिमको विशिष्ट भौगोलिक र सामाजिक विशेषतासहितको योजना र कार्यक्रम अगाडि सार्दै जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पूरा गर्न प्रतिबद्ध छ ।’ 

समाजमा व्याप्त वर्गीय असमानता, जातीय विभेद, बेरोजगारी, कुरीति र कुसंस्कारलाई निर्मूल पारेर मात्र संविधानले परिलक्षित गरेको गन्तव्यमा पुग्न सकिने भएकाले यसका लागि दत्तचित्तका साथ एकजुट भएर लाग्न र संविधानको पूर्ण कार्यान्वयनमार्फत सङ्घीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्नेतर्फ मन, वचन र कर्मले समर्पित हुन सम्पूर्ण प्रदेशवासीहरूलाई अनुरोध गर्दछु, मुख्यमन्त्री भट्टले सम्बोधनमा बताउनुभयो । 

नेपाली सेनाद्वारा प्रदेश प्रमुख देवराज जोशीलाई सलामी अर्पण गरेर सुरु भएको कार्यक्रममा सभामुख अर्जुनबहादुर थापालगायत मन्त्रीहरू, विभिन्न दलका नेता र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । यसअघि धनगढीको चौराहाबाट विभिन्न प्रकारका सांस्कृतिक र्‍याली निकालिएको थिए । 

Author

भवनी ऐर