• ६ चैत २०८०, मङ्गलबार

अस्थायी साधनको प्रयोग बढ्यो

blog

तानसेन समाचारदाता

पाल्पा, असोज ३ गते । ‘सुखी र व्यवस्थित परिवार’ बनाउने चाहनाले यहाँका दम्पतीले परिवार नियोजनका साधनको प्रयोग बढाएको पाइएको छ। पछिल्लो तीन वर्षको अवधिमा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने दम्पतीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। 

ग्रामीण क्षेत्रका दम्पतीमा समेत ‘सुखी र व्यवस्थित परिवार’ बनाउने चाहनाले स्थायी तथा अस्थायी साधनको प्रयोगकर्ता बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । केही वर्षअघिसम्म परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किचाउने सेवाग्राहीले अहिले सहज रूपमा स्थायी तथा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्न थालेको कार्यालयको भनाइ छ। 

पछिल्लो समय व्यवस्थित परिवार बनाउने दम्पतीको चाहना बढेकाले अस्थायी तथा स्थायी परिवार नियोजनका साधन प्रयोगकर्ता बढेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो। “अहिले धेरै दम्पतीले परिवार नियोजनका लागि मात्र होइन, व्यवस्थित परिवार बनाउने योजनाका साथ स्थायी र अस्थायी साधन प्रयोग गरेको भेटियो,” उहाँले भन्नुभयो।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आव २०७६/७७ मा १६ हजार ३७६ जना सेवाग्राहीले अस्थायी साधन प्रयोग गरेका थिए। यस्तै आव २०७७/७८ मा १६ हजार ४२१ र आव २०७८/७९ मा १७ हजार ५४० जनाले परिवार नियोजनका अस्थायी साधन कन्डम, पिल्स, डिपो, आईयूसीडी, इम्प्लान्ट प्रयोग गरेका छन्। पछिल्लो समय धेरै दम्पतीको ‘परिवार योजना’ बनेकाले परिवार नियोजनका साधन प्रयोग गर्ने क्रम बढेको स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन कार्यक्रमका फोकल पर्सन टीकाराम अधिकारीले बताउनुभयो। 

यो अवधिमा स्थायी साधनको प्रयोगकर्ता भने घटेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ। तीन वर्षअघि चार हजार २६९ जनाले स्थायी साधनको प्रयोग गरेका थिए भने आव २०७८/७९ मा तीन हजार ९८० जनाले व्यवस्थित परिवार बनाउनका लागि स्थायी साधनको प्रयोग गरेका छन्। 

दम्पतीमा आएको धारणा परिवर्तनले पनि परिवार नियोजनका साधन प्रयोग गर्ने क्रम बढेको स्वास्थ्यकर्मीको दाबी छ। परिवार नियोजनका साधनको प्रयोगबाट व्यवस्थित र सुखी परिवार बनाउन सहयोग पुगेको नेपाल परिवार नियोजन सङ्घ पाल्पा शाखाले जनाएको छ। 

व्यवस्थित परिवार योजनाका लागि परिवार नियोजनका साधन प्रयोग गर्न सचेतना अभिवृद्धि गरेकाले धेरै दम्पतीमा सुधार आएको जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले बताउनुभयो। अब परिवार नियोजनका कार्यक्रमभन्दा पनि सुखी र व्यवस्थित परिवार बनाउने योजनाका कार्यक्रम गर्नु आवश्यक रहेको खनालको भनाइ छ।