• ६ चैत २०८०, मङ्गलबार

संविधान दिवस

चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

blog

आठौँ संविधान दिवसको अवसरमा आयोजित विशेष समाराेहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः केशब गुरुङ

काठमाडौं, असोज ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको बताउनु भएको छ ।

संविधान दिवसको अवसरमा सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निर्वाचनले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्दछ भने अर्कातिर यसले हाम्रो संविधानलाई चलायमान बनाउन र यसको जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्दछ, अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित  वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु ।’’

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुनसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान कानूनी राज्यको आत्मा हो भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘संविधान देशको मूल कानून हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, नागरिकहरूलाई राज्यका तर्फबाट सबै किसिमका मौलिकहकहरू सुनिश्चित गर्ने, नागरिकको राष्ट्रप्रतिको कर्तव्यलाई निर्देशित गर्ने तथा देश र जनताको समुन्नतिको आकाङ्क्षालाई प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण दस्ताबेज हो ।संविधानको भावना र मर्मलाई व्यवहारमा रूपान्तरित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक छ ।’’

संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन नियमहरू तर्जुमा भई कार्यान्वयनमा आएका छन्, मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन सम्पन्न भएसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी छ यसका लागि हाम्रो सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउन जरुरी छ, प्रधानमन्त्रीले भन्नुभयो ।

सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक तथा सामाजिक अधिकार उपभोग गर्न सक्ने समतामूलक समाजको निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो भन्दै प्रधानमन्त्रीले अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रूपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार भएको बताउनु भयो ।

सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ, हामी सबैको समन्वयात्मक प्रयासबाट कोभिड डेङ्‍गुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौँ भन्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

राष्ट्रिय एकता तथा संविधान दिवसका अवसरमा यो लक्ष्य पूरा गर्न कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई  सर्वोपरि ठान्दै विकास र समुन्नतिको महायज्ञमा जुट्न प्रधानमन्त्रीले सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्र लगायत सबैमा आह्वान पनि गर्नुभयो ।

सम्बोधनको पूर्ण विवरण यस प्रकार छ :

आठौँ संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको देशवासीका नाममा सम्बोधन (२०७९ असोज ३)

सम्माननीय राष्ट्रपतिज्यू,

सम्माननीय उपराष्ट्रपतिज्यू,

सम्माननीय का.मु. प्रधान न्यायाधीशज्यू,

प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू,

राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,

माननीय मन्त्रीज्यूहरू,

संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीज्यूहरू,

मुख्य सचिव लगायत सबै राष्ट्रसेवक कर्मचारीहरू,

सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू,

विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू,

लोकतन्त्रप्रेमी सम्पूर्ण नेपाली दिदी/बहिनी तथा दाजुभाइहरू 

१. सर्वप्रथम, संविधान दिवसको पुनीत अवसरमा मुलुकमा नागरिक अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य देह उत्सर्ग गर्नुहुने ज्ञात/अज्ञात सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।साथै,लोकतन्त्र प्राप्तिको लडाइँमा आजीवन सङ्घर्ष गर्नुभएका अग्रज नेता, राजनीतिकर्मी, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरू र प्रजातन्त्रका योद्धाहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु। यसैगरी, लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनुभई स्वास्थ्योपचार गराई रहनुभएका सम्पूर्ण महानुभावहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

२. विगत केही समययता सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्ला लगायत मुलुकका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी अमूल्य जीउज्यान गुमाउनु हुने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । 

३.नेपाली जनताले नागरिक हक अधिकार प्राप्तिको लागि गरेको २००७ सालको राजनैतिक क्रान्ति र त्यस पछि पनि पटक पटक गरेको लामो सङ्घर्ष र बलिदानको फलस्वरूप वि।सं। २०४६ को प्रथम जनआन्दोलन र तत्पश्चात् २०६२र६३ को दोस्रो जनआन्दोलनको सफलतासँगै मुलुकमा जन निर्वाचित संविधान सभाको गठन भई सो संविधान सभाबाट २०७२ साल असोज ३ गते आजैका दिन नेपालको संविधान जारी भएको थियो । यो संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित गरेको छ। संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनुका साथै नागरिकहरूको राजनैतिक, सामाजिक तथा आर्थिक अधिकारहरूलाई पूर्णतः संरक्षित गरेको छ। यसैले आजको दिन मुलुकको राजनैतिक इतिहासमा युगान्तकारी दिन हो ।

४. संविधान देशको मूल कानून हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, नागरिकहरूलाई राज्यका तर्फबाट सबै किसिमका मौलिकहकहरू सुनिश्चित गर्ने, नागरिकको राष्ट्रप्रतिको कर्तव्यलाई निर्देशित गर्ने तथा देश र जनताको समुन्नतिको आकाङ्क्षालाई प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण दस्ताबेज हो । संविधान कानूनी राज्यको आत्मा हो । २०७२ सालमा हामी सबैको प्रयासमा संविधानसभाबाट जारी भएको नेपालको संविधान सुन्दर, समृद्ध र सम्मानित नयाँ नेपाल निर्माण गर्ने मार्ग(चित्र पनि हो। यो संविधानले राज्यको सबै तह र तप्कामा सबै नागरिकहरूलाई समान र सम(न्यायिक पहुँच सुनिश्चित गर्दै शासन प्रणालीमा जनताको अधिकतम प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।

५. संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताहरूमा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने कुरालाई महत्त्वका साथ उल्लेख गरेको छ । अतः संविधानको भावना र मर्मलाई व्यवहारमा रूपान्तरित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक छ ।

६. आज हामी संविधान सभाबाट नेपाली जनताले चाहेजस्तो संविधान निर्माण गरी त्यसै अन्तर्गत मुलुकमा जनउत्तरदायी शासन व्यवस्था स्थापना तथा सञ्चालन गर्न सक्षम भएका छौँ । यो संविधानमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सुशासनलाई संस्थागत गर्ने कुरा अभिव्यक्त गरेका छौँ। छुवाछुत, जातीय तथा लैङ्गिक भेदभाव जस्ता कुरीति र कुप्रथालाई उन्मूलन गर्दै सबैलाई समान अवसर र सहभागिताको सुनिश्चितता गरी समावेशी विकासको परिकल्पना गरेका छौँ । 

७. आज संविधान जारी भएको आठ वर्षको अवधिमा संविधानले परिलक्षित गरेका धेरै कामहरू हामीले सम्पन्न गर्न सकेका छौँ । देशमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा हामी अग्रसर छौँ । संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन नियमहरू तर्जुमा भई कार्यान्वयनमा आएका छन् । मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन सम्पन्न भएसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी छ। यसका लागि हाम्रो सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउन जरुरी छ ।

८. हाम्रा वीर शहीदहरूका अधुरा सपना पूरा गर्ने र समृद्ध नेपाल बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ। यसलाई अवसरको रूपमा सदुपयोग गर्दै समृद्धि र सुशासनलाई यथाशीघ्र हरेक नेपालीको घर आँगनमा पुर्‍याउन हामी सबैले निष्ठा र इमानदारीका साथ काम गर्नुपर्ने खाँचो छ । अब सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक तथा सामाजिक अधिकार उपभोग गर्न सक्ने समतामूलक समाजको निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो । 

९. लोकतन्त्र भनेको जनताले जनताद्वारा जनताकै लागि जनताको इच्छाबमोजिम गरिने शासन हो । लोकतन्त्रमा सम्पूर्ण निर्णायक शक्ति सार्वभौम जनतामा रहेको हुन्छ । लोकतन्त्रमा राज्यका सबै तह र संरचनामा देशका सबै वर्ग र समुदायको समान पहुँच र सहभागिता सुनिश्चित हुन्छ, हुनुपर्छ । लोकतन्त्रमा सबै जनता संविधान र कानूनले सुनिश्चित गरेको हक अधिकार समान रूपमा उपभोग गर्न सक्ने हैसियतमा हुनुपर्छ। शासन प्रणालीमा सबै जनता अटाउने र राज्यका अवसरहरूमा सबैले समान हिस्सा पाउने व्यवस्था यसको आधारभूत चरित्र हुनुपर्दछ। कसैलाई पनि पछि नछोड्ने सबैलाई सँगसँगै लिएर अघि बढ्ने विशेषता यसको हुनुपर्दछ । 

१०. नेपाली जनताले पटक पटक नागरिक हक अधिकार प्राप्तिको लागि गरेको सङ्घर्ष केवल राजनीतिक स्वतन्त्रताका लागि मात्र सीमित नभएर देशको द्रुततर आर्थिक, सामाजिक रूपान्तरणको लागि समेत थियो। अतः जनताको जीवनस्तरमा सुधार ल्याउने, मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवर्द्धन गर्ने तथा मुलुकको समृद्धिको सपनालाई चाँडोभन्दा चाँडो पूरा गर्ने गरी हामीले काम गर्न जरुरी छ ।अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रूपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार नै हो ।

११. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिभएका संरचना र पूर्वाधारहरूको नव निर्माण र पुनर्निर्माणलाई सक्दा नसक्दै हामीले कोभिड(१९ को महामारीको प्रकोपलाई सामना गर्नुपरेकोमा अहिले डेङ्‍गु रोगको प्रकोपबाट थप पीडित हुन पुगेका छौँ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ । हामी सबैको समन्वयात्मक प्रयासबाट कोभिड र डेङ्‍गुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौँ भन्ने विश्वास मैले लिएको छु ।  

१२. निर्वाचन लोकतन्त्रको आधारशिला हो । यो संविधान जारी भएपछि गत वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरूले कार्यभार सम्हालिसक्नु भएको छ । यसले लोकतन्त्रलाई जगदेखि नै मजबुत बनाएको छ । आगामी मङ्सिर महिनामा हामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न गइरहेका छौँ । यसले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्दछ भने अर्कातिर यसले हाम्रो संविधानलाई चलायमान बनाउन र यसको जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्दछ । अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित  वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ । यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु । 

१३. सम्पूर्ण नेपाली जनताको समृद्धि, सम्पन्नता र आत्मसम्मान अभिवृद्धि नै हाम्रो अबको एक मात्र अभीष्ट हो। तसर्थ, राष्ट्रिय एकता तथा संविधान दिवसका अवसरमा यो लक्ष्य पूरा गर्न कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वोपरि ठान्दै विकास र समुन्नतिको महायज्ञमा जुट्न म सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्र लगायत सबैमा आह्वान गर्न चाहन्छु।

१४. अन्त्यमा, आठौँ संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी(बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आजको दिवसले शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । 

धन्यवाद , जय नेपाल ,

२०७९ असोज ३