• ६ चैत २०८०, मङ्गलबार

हिमपातले उवा बाली नष्ट

blog

हिमपातले हल्जी गाउँका किसानको क्षति पुर्‍याएको उवा बाली । तस्बिर: राजन रावत

हुम्ला, असोज ३ गते । नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीमा पाँच सय रोपनी भन्दा बढी जग्गामा लगाएको उवा लगायतका बाली नष्ट भएको छ । पाकेर थन्क्याउने बेला भएको उक्त बाली शनिबार रातिबाट भएको हिमपातले नष्ट गरेको हो । 

लिमी हल्जी गाउँका किसान कोन्ज्योक निमा तामाङले हिमपातले पाकेर थन्क्याउने समय हुन लागेको उवा बाली नष्ट गरेको बताउनुभयो । उहाँको मात्र बिस रोपनीमा लगाएको उवा बाली नष्ट भएको छ । उहाँले हिउँले राम्रो भएको उवा बाली ढालेर क्षति पुर्‍याएको बताउनुभयो । उहाँले अब किसानसँग हिउँले क्षेत्री पुर्‍याएको बाली हेर्नुको अन्य विकल्प नभएको बताउनुभयो । 

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले तीन वटै तील, हल्जी र जाँङ गाउँका किसानले पाँच सय रोपनी भन्दा बढी जग्गामा लगाएको उवा, केराउ, फापर लगाएको बाली नष्ट गरेको बताउनुभयो । अबको डेढ हप्ता भित्र उक्त बाली किसानले भित्र्याउने कार्य सुरु हुने थियो । उहाँले एक फिट भन्दा बढी हिमपातले पाकेको उवा बालीलाई ढालेर कामै नलाग्ने गरी क्षति पुर्‍याएको बताउनुभयो ।

लिमीमा उक्त बाली वर्षमा एक पटक मात्र पाक्ने गर्छ । त्यही बाली पनि हिमपातले नष्ट भएपछि किसानहरू मर्कामा पर्नु भएको हो । उहाँले हिमपात जारी नै रहेको कारण यसबाट पुगेको क्षतिको विवरण भने अहिले नै केही भन्न नसकिने बताउनुभयो । उहाँले यो बालीलाई हिमपातले क्षति पुर्‍याए पछि किसानहरूलाई भोकमरी समस्या हुने अवस्था सृजना भएको बताउनुभयो । 

विगतमा यति चाँडै हिमपात नभएको सुनाउँदै उहाँले अघिल्लो वर्ष उवा छर्ने बेला हिमपात भएको कारण सो कार्य ढिलाइ भएको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष प्रेम लामाले हिमपातको कारण बालीमा हालसम्मकै ठुलो क्षति पुगेको बताउनुभयो । लिमीका तिनै गाउँका किसानहरूले अन्नबाली नष्ट भएपछि क्षति ब्यहोर्नु परेको बताउँदै उहाँले किसानहरूलाई राहत सहयोग उपलब्ध गराउनका लागि सबैलाई सहयोग गर्न अपिल गर्नुभयो ।

लिमीमा १४७ घरधुरीका एक हजार भन्दा बढी जनसङ्ख्या रहेको छ । लिमी जाने नारा र न्यालु नाका हिमपातले बन्द भएको कारण क्षतिको विवरण लिन गाउँपालिका र कृषि विकास कार्यालयलाई समस्या देखिएको छ । हिमपातले नाम्खा गाउँपालिका–५ को यारी क्षेत्रमा पनि खेतीपातीमा क्षति पुर्‍याएको खबर भए पनि क्षतिको बारेमा भने विवरण आएको छैन । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।