काठमाडौँ, असोज २ गते । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सडक पूर्वाधारमा खर्च हुँदाखेरी राजमार्गहरूलगायत ठूला सडकलाई प्राथमिकता दिनुको सट्टामा साना–साना सडकमा समय खर्च भइरहेको बताउनु भएको छ ।
आइतबार ‘पूर्वाधार विकास सञ्चारकर्मीको भूमिका’ अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । विभागले सङ्घीय सडकहरू मात्रै हेर्नुपर्ने भए तापनि त्यसबाहेकका सडकहरू हेर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘संविधानतः हामीले सङ्घीय सडकहरू मात्रै हेर्ने हो । नेपाल सरकारले सङ्घीय सडक भनेर ८० वटा राजमार्ग भनेर तोकिदिएको छ । त्यो ८० वटा राजमार्ग मात्रै सडक विभागअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत हेरिनुपर्ने हो तर त्यो नभएर हामीले वडास्तरीय, गल्ली–गल्लीका सडकहरूमा पनि हामीले हेर्नु परिरहेको छ ।’’
विभाग यस्ता सानातिना सडकमा केन्द्रीकृत हुन छोडेर ठूला सडकमा केन्द्रीकृत हुनुपर्ने महानिर्देशक थापाले औँल्याउँदै बजेटको बेलामा पनि त्यही किसिमको छलफल भए तापनि बजेट आउने बेलामा यस्तै साना साना धेरै सडक नै आउने गरेको गुनासो गर्नुभयो ।
विभागमा करिब २५–३० अर्बको साना सडक आउने गरेका छन् । स्थानीय जनप्रतिनिधिहरूसमेत त्यही साना सडकहरूकै लागि दबाब आउने गरेको छ ।
उहाँले भन्नुभयो, ‘‘केन्द्रीकृत मानिसहरू, सांसदहरू, नगरपालिका र गाउँपालिकाका मेयरहरूको उद्देश्य आफ्नो सडक र आफ्नो गाउँको विकास होस, बाटो बनोस्, गल्ली बनोस् भन्ने चाहाना हुँदो रहेछ, आफ्नो गाउँ ठाउँमा केही गरेर देखाऊ भन्ने चाहाना हुन स्वाभाविक हो । उहाँहरूलाई जनताले केही आशा गरेर चुनिएर पठाएका हुन्छन् ।’’
आफूहरूले ९० प्रतिशत कार्यादेशमा नै नभएको काम गर्नु परेको भनाइ महानिर्देशक थापाको छ । कार्यक्रममा अर्थ समितिका पूर्वसभापति कृष्णप्रसाद दाहालले पूर्वाधारको महत्त्वपूर्ण पाटो सडकको विकास दीर्घकालीन ढङ्गबाट गरिनुपर्ने जोड दिनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले पूर्वाधारलगायतका विषयमा समाचार लेख्दै गर्दा देखा परेका समस्या र समाधानका उपायहरू पहिल्याउने उद्देश्य स्वरूप कार्यक्रम गरिएको जानकारी दिनुभयो ।