प्राचीन मठमन्दिरमा नित्य पूजाको व्यवस्था गर्न माग





काठमाडौँ, जेठ १४ गते । देशभरका प्राचीन मठमन्दिरमध्ये अधिकांशमा नित्य पूजा हुन छोडेपछि पूजाको व्यवस्था मिलाउन माग गरिएको छ ।

मुलुक भरका प्राचीन मठमन्दिरमध्ये अधिकांशमा नित्य पूजा हुन छोडेपछि नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन समितिले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले प्राचीन मठमन्दिरमा विधिपूर्वक पूजाको व्यवस्था मिलाउन गुठी संस्थानलाई निर्देशन दिनुभएको छ ।

संस्कृति मन्त्री आनन्दप्रसाद पोखरेलले पनि ज्ञापनपत्र बुझ्दै पुरातत्व विभागले प्राचीन मठमन्दिरको अभिलेख राखी नित्य पूजाको व्यवस्थाका लागि सम्बन्धित कार्यालयका बीचमा समन्वयका लागि प्रतिबद्धता जनाउनुभएको छ ।

समितिले बुझाएको ज्ञापनपत्रमा मुलुकभरका मठमन्दिरमा वातावरणीय स्वच्छता कायम गर्न र देशव्यापी रुपमा धार्मिक सांस्कृतिक जागरणका निमित्त अभियान चलाउन पनि माग गरिएको छ ।

गुठी संस्थानअन्तर्गत नभएका प्राचीन मठमन्दिरलाई स्थानीय निकायको मातहतमा ल्याई नित्य पूजाको व्यवस्था गर्न पनि भूमिसुधार मन्त्री र संस्कृति मन्त्रीसमक्ष अनुरोध गरिएको समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो ।

“पुराना भई जीर्ण बनेका र भूकम्पले भत्किएका धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाको संरक्षणको व्यवस्था मिलाउन दुवै मन्त्रालय, गुठी संस्थान, पुरातत्व विभाग, सम्बन्धित जिल्ला विकास समिति तथा जिल्ला प्रशासन कार्यालयका बीचमा समन्वय गरेर काम गरिनुपर्छ भन्ने माग गरेका छौँ” – उहाँले भन्नुभयो ।

संस्थानले यसै वर्षबाट प्राचीन मठमन्दिरमा नित्य पूजाको व्यवस्था मिलाउन बजेट एवम् नीति र कार्यक्रम बनाउने गृहकार्य सुरु गरेको अध्यक्ष लक्ष्मण ज्ञवालीले बताउनुभयो । “देशभरका प्राचीन मठमन्दिरमा नित्य पूजा चलाउन धार्मिक सांस्कृतिक अभियान चलाउन लागेका छौँ” – उहाँले भन्नुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १० प्रतिशत मन्दिरमा अहिले नित्य पूजा रोकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताउनुभयो । “कोषले पशुपतिको मूल मन्दिर, जयबागेश्वरी र विश्वरुप मन्दिरमा नित्य पूजा चलाउँछ, अन्य मन्दिरमा गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयले पूजा चलाउँछ, निजी गुठी राखिएका मन्दिरको जग्गा मासिएपछि यहाँका १० प्रतिशत मन्दिरमा पूजा रोकिएको छ” – उहाँले भन्नुभयो ।

पशुपतिका १६९ मन्दिरमा संस्थानको पशुपति गोश्वारा कार्यालयले नित्य पूजा चलाइरहेको कार्यालय प्रमुख खिमा ओलीले बताउनुभयो ।

ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण नुवाकोटको त्रिपुरासुन्दरी मन्दिरमा विसं २०२३ देखि नित्य पूजा रोकिएको छ । उपत्यकाकै वसन्तपुरका ७०० मन्दिर, भक्तपुर र पाटन क्षेत्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक रुपले महत्वपूर्ण सयौँ मन्दिरमा पनि वर्षौंदेखि पूजा रोकिएको समितिको भनाइ छ ।

समितिले विदेशी नेपालमा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक सम्पदा हेर्न आउने भएकाले यी स्थलका परम्परा कायम राखी वातावरण स्वच्छ बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रमा दिगो शान्तिका लागि पनि सनातनदेखि चलिआएको नित्य पूजा पुनः सुरु गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने समितिको माग छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना