• ६ चैत २०८०, मङ्गलबार

सिसिटिभी क्यामेरा जडान नहुँदा चोरीका घटना बढ्दै

blog

फाइल तस्बिर

पबिता पौडेल 

रुपन्देही सैनामैना, असोज २ गते । सैनामैना नगरपलिकाको पूर्व–पश्चिम राजमार्गको सुरक्षा व्यवस्था चुस्त बनाउने उद्देश्यले खरिद गरिएका सिसिटिभी क्यामरा ६ महिना बित्दा पनि अहिलेसम्म जडान भएको छैन । 

१ करोड ८ लाख रुपियाँको टेन्डर प्रक्रियाबाट खरिद गरिएको सो सिसिटिभी क्यामेरा जडान नहुँदा चोरहरूलाई चोरी गर्न सहज भएको छ । यस क्षेत्रमा दिनहुँ जसो चोरीका घटना भए पनि नगरपालिकाले क्यामेरा जडानमा चासो नदेखाएको स्थानीयको गुनासो छ । 

रुपन्देही सैनामैना सत्य सञ्जाल संस्थाका अध्यक्ष युवराज भुसालले दिनहुँ चोरी, बालबालिका अपहरणका घटना भइरहेको बताउनुभयो । एक महिनाअघि वडा ६ सैनामैनामा ३ वटा बाइक र गाई बाख्रा चोरी भएको उहाँको भनाई छ । सिसिटिभी क्यामरा जडान भएमा चोरीका घटनामा कमी आउने भए पनि नगरपालिकाले जडानमा विलम्ब गरेको उहाँको गुनासो छ ।

स्थानीय युवा लक्ष्मण पौडेलका अनुसार नगरप्रमुखले चुनावताका नागरिकसामु गरिएको प्रतिबद्धता कार्यान्वयन भएको छैन । टेन्डर परेको ४५ दिनभित्र काम हुनुपर्ने भए पनि ६ महिना पुग्दा समेत काम नभएको उहाँले बताउनुभयो । 

टेन्डर प्रक्रियामा जाँदा सिसिटिभी क्यामरा जडान हुने खबरले आफूहरू खुसी भए पनि खुसी निराशामा प्रणित भइरहेको उहाँको भनाई छ । हरेक दिनजसो चोरीका घटना हुँदा घरमा बस्न पनि डर लाग्नेगरेको अर्का स्थानीय साबित्रा पौडेलले बताउनुभयो । 

सैनामैना नगरपलिकाका  प्रेस सल्लाहकार  कृष्ण भण्डारीले २१ स्थानमा बुलेट क्यामरा, पीटीजी क्यामरा र एएनपीआर क्यामरा गरी ३ थरिका ५९ वटा क्यामरा जडान गरिएको दाबी गर्नुभयो । 

सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्र शर्माले सिसिटिभी क्यामरा किन्ने काम भएकाले चाँडै जडान गरिने प्रतिबद्धता जनाउनुभयो । काम प्रक्रियामा रहेकाले केही समय लाग्ने उहाँको भनाई छ ।