• ६ चैत २०८०, मङ्गलबार

नेताहरु भन्छन् : ‘संविधान र सङ्घीयता कार्यान्वयनमा ठूलो उपलब्धि हासिल भएको छ’

blog

काठमाडौँ, असोज २ गते । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र संघीयतालाई संस्थागत गर्ने विषयमा संविधान जारी भएको आठ वर्षमा ठूलो उपलब्धि हासिल भएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापछि भएको निर्वाचनबाट गठित सदनले विभिन्न राजनीतिक उथलपुथलका घटनाकाबीच संविधान अनुकूल बनाउन पर्ने सबै कानुन तर्जुमा गर्दै पूरा अवधि चल्नुलाई पनि उपलब्धीकारुपमा हेरिएको छ ।

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भन्नुहुन्छ, “यसबीचमा देखिएका केही अस्थिरता र व्यवधानलाई चिर्दै संसद् कानुन निर्माण गर्दै अघि बढ्न सफल हुनुलाई महत्त्वपूर्ण उपलब्धिकारुपमा लिन सकिन्छ ।”

उहाँले संविधानका सात वर्षमा भएका अभ्यास र स्थानीय तहको निर्वाचन परिणामलाई दृष्टिगत गरी राजनीतिक दलले त्यसबाट पाठ सिकेर आगामी दिनमा निष्ठावान्, कामकाजी र ऊर्जावान् उम्मेदवार दिन ध्यान दिन सुझाव दिनुभयो ।

नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीलाई जनताले बहुमतको सरकार निर्माण जनादेश दिएकामा दलभित्रको आन्तरिक झगडाले जनताको सार्वभौम सम्पन्न संसद् दुई पटक विघटन गरिए पनि जनताको दबाब र अदालतको निर्णयबाट पुनः स्थापना भएको थियो ।

प्रमुख सचेतक भट्टराई भन्नुहुन्छ, “जनतालाई निराशा बाँडेर होइन, उत्साहित बनाएर जानुपर्छ, भविष्य उज्ज्वल छ, देश निर्माण गर्न सकिन्छ, राजनीति दल र प्रणालीप्रति भरोसा राखेर विकास र समृद्धिको अभियानमा एकताबद्ध हुनुपर्छ ।”

पूर्वमन्त्री हृदयेश त्रिपाठीले आवधिक निर्वाचन समयमा हुनु भनेको संविधान र सङ्घीयता कार्यान्वयनको प्रबल पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले उठाएका मूलभूत विषयलाई सम्बोधन गर्न जिम्मेवार राजनीतिक दलले ती मुद्दालाई निर्वाचन घोषणापत्रमा समेटेर अघि बढेमा नतिजा स्वस्थ्य जनक नै आउने छ ।”

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले मानवअधिकार, सामाजिक न्याय तथा मुलुकको भूपरिवेशका आधारमा वर्तमान संविधानलाई उत्कृष्ट संविधानकारुपमा ग्रहण भएको बताउनुभयो ।

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जनतालाई धेरै अधिकार प्रदान गरेको वर्तमान संविधान लोकतन्त्रको संस्थागत विकासका सन्दर्भमा ऐतिहासिक उपलब्धिको दस्ताबेज भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्र आफैँमा निर्माण र सुदृढ हुँदै जाने प्रक्रिया हो । केही अवधिसम्म परिपक्व हुन दिनुपर्छ । संविधानले परिकल्पना गरेको समृद्ध, सुखी र समुन्नत समाज निर्माण गर्नु हो । आगामी निर्वाचनले त्यसतर्फ अघि बढ्ने महत्त्वपूर्ण कार्यदेश दिनेछ ।”

संविधान कार्यान्वयन र कानून निर्माणका हिसाबले सात वर्षको अवधि उपलब्धिमूलक बताउँदै नेता ज्ञवालीले संविधानसँग बाझिएका पुराना कानुनलाई संशोधन मात्र नभई नीति र कार्यक्रमसमेत सर्वसम्मतिले पारितको घटना सुनाउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधानमाथि सङ्कट र व्यवस्थामाथि चुनौती खडा भएको परिस्थितिमा सदन पूरा कार्यकाल चल्नु भनेको संविधान र लोकतान्त्रिक व्यवस्थाको जग बसेको पुष्ट्याइँ गर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “यसबीचमा राष्ट्रियता, स्वाधीनता र लोकतन्त्रका विषयमा महत्त्वपूर्ण काम भएकाले समग्रतामा सफल दिशातर्फउन्मुख छ ।”

आठौँ संविधान दिवसका अवसरमा राससका प्रतिनिधिसँग कुराकानी गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भने संविधानलाई सबल र सुदृढ तुल्याउन संशोधन अत्यावश्यक रहेको विचार प्रकट गर्नुभयो ।

नेपाली जनताको सात दशक लामो सङ्घर्ष र बलिदानको उपलब्धिकारुपमा गठन भएको संविधानसभाद्वारा जारी संविधान विश्वका उत्कृष्ट संविधानको कोटीमा पर्दछ । विसं २०७२ असोज ३ गते जारी संविधानमा भाग ३५, धारा ३०८ र अनुसूची नौ रहेको छ ।