• ६ चैत २०८०, मङ्गलबार

सडक छ, पुल छैनन्

blog

राजकुमार भट्टराई

खोटाङ, असोज २ गते । दिक्तेल–चखेवाभन्ज्याङमा पर्ने मध्यपहाडी लोकमार्गको सडकखण्डका खोलाहरूमा मोटरेबल पक्की पुल निर्माण नहुँदा समस्या भएको छ। खोटाङबाट पर्यटकीय स्थल चखेवाभन्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ४६ किलोमिटर लामो सडकखण्डको करिब ३५ किलोमिटर कालोपत्र सम्पन्न भए पनि बीच भागमा पर्ने खोलाहरूमा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको हो। 

बगुवा माटो (पहिरो झरिरहने) रहेको छेपेखोलामा मोटरेबल पक्की पुल निर्माण गर्न जग खनिएको खाल्डोका कारण माथिल्लो भागबाट निरन्तर पहिरो झर्दा पटक–पटक यायायात अवरुद्ध हुँदै आएको छ। पहिरोले सवारीसाधन वारपार गर्न नसक्दा कयौं घण्टा रोकिएर बस्नु परेको सवारीचालकहरूको गुनासो छ। सगरमाथा कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको उक्त छेपेखोलाको मोटरेबल पक्की पुलका लागि एउटा पिलरमात्र ठड्याएर अलपत्र अवस्थामा छाडिएको देखिएको छ। ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न तथा यातायात सञ्चालनमा समेत समस्या भएको छ। 

पुल निर्माण सम्पन्न नहुँदा सडक पटक–पटक अवरुद्ध भएपछि तत्काल सडक सञ्चालनमा ल्याउन एवं पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले निर्देशन दिनुभएको छ। यसअघि पनि सम्बन्धित निकायले बारम्बार ताकेता गरिरहेका छन्। निर्माण कम्पनीले काम सम्पन्न भने गरेको छैन। 

पक्की पुल अभावमा खोलामाथि बगर बिच्छ्याएर यातायात सञ्चालन गर्दै आइएको उक्त सडकखण्ड अवरुद्ध भएको समयमा पटक–पटक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको जेसीबी प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरिएको छ।

नेपाल सरकारको करिब एक अर्ब रुपियाँ लगानीमा छ वर्षअघि कालोपत्र सुरु गरिएको उक्त दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको खोटाङस्थित पङ्खुखोला, मेवाखोला, छेपेखोला र भालुखोलामा पक्की पुल निर्माण भएका छैनन्। कालोपत्रको काम सम्पन्न भइसकेको बाँझेच्यानाँडा–दिक्तेल सडकखण्डमा पर्ने पङ्खुखोला र छेपेखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले अहिले अलपत्र अवस्थामा रहेका छन्।

पङ्खुखोलामा निर्माणाधीन पक्की पुल वि.सं. २०७५ असार मसान्तभित्र सम्पन्न गर्नेगरी सिरुवा कन्ट्रक्सन प्रालिले वि.स. २०७२ असोजमा ठेक्का सम्झौता गरेको थियो। १५ मिटर लामो उक्त मोटरेबल पक्की पुलको लागि दुवैपट्टि पिलर ठड्याइए पनि लामो समयदेखि ठेकेदार सम्पर्कबिहीन बनेको स्थानीय बासिन्दाले बताएका छन्।

यता मैवाखोला र भालुखोलामा निर्माण गरिने मोटरेबल पक्की पुलको ठेक्का लागेको लामो समय बितिसके पनि अहिलेसम्म निर्माणको काम सुरु भएको छैन। छिमेकी जिल्ला भोजपुरसँग जोडिएको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायतमा भने यसअघि नै पक्की पुल तयार भइसकेका छन्। बाँकी चारवटा खोलाहरूमा पक्की पुल नबनेसम्म बर्सातको समयमा नियमित यातायात सञ्चालन हुने अवस्था छैन।

पाँच खण्डमा विभाजन गरेर वि.सं. २०७२ चैतबाट दिक्तेल–चखेवाभन्ज्याङ सडकको विभिन्न खण्डमा कालोपत्र गर्न थालिएको थियो। सेखुवा–दिक्तेल ३६ किलोमिटरमा रमन–गोल्डेन गुड जेभी र चखेवाभन्ज्याङ–सेखुवा दस किलोमिटर सडकखण्ड भरत–मैनाचुली–सिद्धिसाई जेभीले कालोपत्रको जिम्मा लिएको थियो।

चखेवाभन्ज्याङदेखि सेखुवासम्मको दस किलोमिटर तथा पुल निर्माण गर्न बाँकी ठाउँको सडक कालोपत्र भएको छैन। चखेवाभन्ज्याङदेखि सेखुवासम्म कालोपत्रका लागि सडक फराकिलो पार्ने तथा नाली र पर्खाल लगाउने काम सम्पन्न भए पनि चिसो मौसमका कारण कालोपत्र गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ।