• ६ चैत २०८०, मङ्गलबार

देख्नै छाडियो खर मजुर

blog

वसन्त पराजुली 

भरतपुर, असोज २ गते । विश्वबाटै लोप हुँदै गरेको चरा ‘खर मजुर’ पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र यसवरपरका वन क्षेत्रमा देखिन छाडेको छ । चराका क्षेत्रमा क्रियाशील संस्था बर्ड कन्जरभेसन नेपालले पछिल्लो पटक गरेको सर्वेक्षणले निकुञ्ज र यसवरपरका वन क्षेत्रमा ‘खर मजुर’ लोप हुँदै गरेको देखाउँछ । बर्ड कन्जरभेसन नेपालकी इसिना थापा पछिल्लो गणनामा चितवनमा ‘खर मजुर’ मुस्किलले एकचोटि क्यामरा ट्र्यापिङमा परेको बताउनुभयो । 

“गणकको नजरमा त पर्दै परेनन् । क्यामरा ट्र्यापिङमा चाहिँ एकचोटि ‘खर मजुर’ परेको देखिन्छ,” थापाले भन्नुभयो । विश्वमै अति सङ्कटापन्न सूचीमा रहेको ‘खर मजुर’को अङ्ग्रेजी नाम बेङ्गाल फ्लोरिकन हो । थापा चितवन निकुञ्जमा यो चरा अब हराइसकेको दाबी गर्नुहुन्छ । “केही समय भयो प्रत्यक्ष आँखाले यो चरा देख्न सकिएको छैन,” उहाँले गोरखापत्रसँग भन्नुभयो । यो चरा निकुञ्जको घाँसेमैदानमा ग्रीष्मयामदेखि वर्षात्सम्म बढी देखिन्थ्यो तर यो याममा देख्दै देखिएन । 

घाँसेमैदानको खरबारीमा भुइँमा गुँड बनाएर बस्ने भएकाले पनि यो चरालाई बढी सङ्कट परेको हो । “हरेक वर्षजसो घाँसेमैदानमा लगाइने डढेलो नै यसको मुख्य समस्या हो,” थापाले भन्नुभयो, “जङ्गलमा कतिपय आफैँ डढेलो लाग्छ भने कतिपय अवस्थामा घाँसेमैदान व्यवस्थापनका लागि पनि निकुञ्जले डढेलो लगाउने गर्छ ।” 

विशेषतः निकुञ्जमा फागुनदेखि वैशाख÷जेठसम्म डढेलो लाग्ने गर्दछ । “भुइँमा गुँड हुने भएकाले पनि डढेलोको समस्या बढी नै हुने नै भयो । यसबाहेक अलावा मुसा, कुकुर, स्याललगायतले पनि बच्चा खाइदिँदा यसको सङ्ख्या वृद्धिमा समस्या परेको हो,” उहाँले भन्नुभयो ।

“नेपालमा मात्रै होइन विश्वभरमै यसको सङ्ख्या घट्दो छ । नेपालमा शुक्लाफाँटापछि यो चराको ठूलो बासस्थान मानिने चितवनबाट लोप हुनु चिन्ताको विषय हो,” चराविद् हेमसागर बरालले भन्नुभयो । यो चरा बर्दिया र कोसी वन्यजन्तु आरक्षणमा पनि सीमित मात्रामा छ । यो चरा विशेषतः छोटो खरको घाँसमा बस्न रुचाउँछ । खर ठूलो हुँदा यो बस्न नसक्ने अवस्थामा पुग्ने पनि बताइन्छ । 

“पहिला–पहिला घरपालुवा जनावरको चरिचरन हुँदा घाँस लामो हुन पाउँदैनथ्यो, अहिले चरिचरन रोकिएको छ । साना खर पनि झाडी हुने र खडाइ हुँदा यो चराको बासस्थानमा समस्या भयो,” बरालले भन्नुभयो ।