• ६ चैत २०८०, मङ्गलबार

छुटसहित सुपथ मूल्य पसल सुरु

blog

काठमाडौँ, असोज २ गते । उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनुुभयो । 

थापाथलीस्थित खाद्य कम्पनीको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा शनिबार सुपथ मूल्य पसल उद्घाटन गर्दै मन्त्री बडूले चाडपर्वमा किनमेल बढी हुने हुँदा मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनुभएको हो । 

चाडपर्वमा उपभोक्तालाई राहत दिन असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सुपथ मूल्यमा सामान बिक्री सुरु गरिएको उहाँले जानकारी दिनुभयो । यी सुपथ मूल्य पसलबाट सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउन सके बजारमा मूल्य नियन्त्रण हुने र उपभोक्ता ठगिनबाट बच्ने बताउनुभयो ।

सो अवसरमा उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भौतिक संरचना भएका ठाउँमा उपभोक्तालाई सस्तो मूल्यमा सेवा प्रदान गरिएको जानकारी दिनुभयो । 

सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र टे«डिङ कर्पाेरेसन र दुुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना बिक्री केन्द्रबाट सुपथ मूल्यमा सामान बिक्री सुरु गरेका हुन् । 

खाद्य कम्पनीका अनुसार चामल, दाल, आँटा, पिठो, पैदा, तेल, चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिएको छ । चिनीमा प्रतिकेजी पाँच रुपियाँ र नुनमा प्रतिकेजी दुई रुपियाँ छुट दिएको जनाइएको छ । खाद्य कम्पनीले बिक्री वितरण गरिरहेको जुम्लाको सिमी, गेडागुडीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ भने खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । 

यसैगरी डीडीसीले वितरण हुने घिउमा प्रतिकेजी ५० रुपियाँ (र खाद्य कम्पनीले थप १० रुपियाँ), पनिर÷चिजमा प्रतिकेजी २० रुपियाँ र दहीमा प्रतिकेजी १० रुपियाँ छुट दिएको छ । 

डीडीसीले काठमाडौँ उपत्यकाको नयाँ सडक, लैनचौर र खुमलटार तथा उपत्यकाबाहिर सात ठाउँबाट सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री सुरु गरेको छ । यी सुपथ मूल्य पसल बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने खाद्य कम्पनीले जनाएको छ । 

कर्णालीमा पनि सुपथ मूल्य पसल 

सुर्खेत समाचारदाताका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीको सल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सुरु गरेको छ । 

खाद्य कम्पनीका प्रदेश प्रमुख माधव मिश्रले चाडपर्वमा जनताले सहुलियत रूपमा खाद्यान्नलगायतका सामग्री प्राप्त गर्न सकून् र कालोबजारी नियन्त्रण होस् भन्ने हेतुले दशैँलक्षित सहुलियत पसल सुरु गरेको बताउनुभयो । 

गत वर्ष प्रतिक्विन्टल पाँच सय रुपियाँ छुट दिएको कम्पनीले यस वर्ष प्रतिक्विन्टल सात सय रुपियाँ छुट दिएको प्रदेश प्रमुख मिश्रले जानकारी दिनुभयो । उहाँले सहुलियत पसललाई स्थानीय तहसम्म पु¥याउने लक्ष्य भए पनि कर्मचारीको अभावले त्यसो गर्न नसकिएको बताउनुभयो । 

शनिबार सुपथ मूल्य पसल सुरु गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सहुलियत पसलबाट बिचौलिया नभई जनताले लाभ लिनुपर्ने सुझाव दिनुभयो ।