• ६ चैत २०८०, मङ्गलबार

कैलाली भजनीको साढे ६ सय घर डुबानमा

blog

भजनी नगरपालिकामा भएको डुवान । तस्बिर : लक्ष्मीप्रसाद जोशी

अविनाश चौधरी

धनगढी, असोज १ गते । सुदूरपश्चिममा भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकामा साढे ६ सय घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुबानमा परेका हुन् । 

सो पालिकाको अन्य वडामा पनि डुबान भएको प्रहरीले जनाएको छ । त्यसको विवरण आउन बाँकी रहेको छ । कान्द्रा नदीको बाढीले वडा ५ स्थित मिलनपुर टोल, लालबोझी, पुलियापुरको करिब २५० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । सो स्थानमा इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढथापाको कमाण्डमा उद्धारका लागि प्रहरी टोली खटाइएको छ । 

यसैगरी, वडा नम्बर ७ स्थित कुटी, शिविर टोल, गणेशमान टोल, दक्षिणपूर्व टोलका पनि करिब २५० घरमा पानी पसेको प्रहरीले जनाएको छ । कान्द्रा नदीको पानी घरमा पसेको जनाइएको छ । 

यस्तै, वडा नम्बर ८ को सोनाफाँटा, दैलेखी टोल, भर्थान टोल, जनकपुर, छछ्रहुवाका गरी करिब १६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पथरैया नदीमा आएको बाढी कारण ती गाउँमा घरहरू डुबानमा परेको हो । प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि प्रहरी चौकी जनकपुरबाट प्रहरी सहायक निरीक्षक कमलसिंह भण्डारीको कमाण्डमा प्रहरी टोली खटाइएको छ । 


घरहरू डुबानमा परे पनि मानवीय तथा पशुचौपाया क्षति नभएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो । घरमा पानी पसेपछि वडा ८ का केही स्थानीय हुलाकी सडकमा विस्थापित भएका स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । कैलालीसहित सुदूरपश्चिममा बिहीबारदेखि अविरल वर्षा भइरहेको छ । 

यसैगरी, अविरल वर्षाका कारण पहिरो गएर भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका–५, ६ स्थित चार पाँच ठाउँमा स–साना पहिरो गएको छ । पहिरोका कारण गाडीहरू बाटोमा रोकिएका छन् भने पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जोशीले जानकारी दिनुभयो ।