अवैध मदिरा उत्पादन भाँडामा महिनावारीको टालोदेखि एसिडसम्म

वसन्त गिरी
कपिलवस्तु , जेष्ठ ११ गते ।  लामो समयदेखि अवैध घरेलु मदिरा उत्पादन गर्दै आएका शिवराज नगरपालिकाको बनकट्टीमा मंगलबार छापा हान्न जाने क्रममा सरकारी कर्मचारीहरुले जुन दृष्य देख्नुभयो त्यसले उहाँहरुलाई आश्चर्यमा पार्यो  ।

मदिरा राख्ने भाँडामा उहाले महिनाबारीको टालो देखियो , यूरिया मल मिसाएको पनि पाईयो । त्यस्तै भाँडोभित्र खतरनाक स्प्रीट एसिड, तेजाब, गोबर, प्लाष्टिक, जुत्ता र मोजाहरु मिसाएर मदिरा निकाल्दै गरेको दृष्य देखेपछि छापा हान्न गएका जो कोहि पनि अचम्भित थिए ।


कपिलवस्तुको शिवराज नगरपालिका ४ स्थित बनकट्टीमा बरामद गरिएका अवैध मदिरा र नष्ट गर्दै सुरक्षाकर्मी ।

फोटो ः बसन्त गिरी

 

सो क्षेत्रका ७० प्रतिशत घरधुरीले विगत १७ बर्ष देखि नै अवैध घरेलु मदिरा बनाउँदै आएका छन् र यसैलाई जीविकोपार्जनको मुख्य स्रोत बनाएका उनीहरुले आर्थिक प्रलोभनमा मानव जीवनसंग निकै ठूलो खेलवाड गरेको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्या बताउनुहुन्छ , “हामीले छापा हान्दा हान्दै उनीहरु भागे, तर कारवाही गर्छौ”  प्रशासन, प्रहरी, शशस्त्र प्रहरीको संयुक्त टोलीले ११ बजे देखि छापा हान्न सुरु गरेको थियो । छापा हान्ने क्रममा भेटिएको नौं हजार लिटर तयारी अवैध मदिरा र दुई सय ड्रम , जर्किन घटनास्थलमै नष्ट गरिएको थियो । स्रोतका अनुसार घरेलु मदिरा कडा बनाउन उत्पादनकर्ताहरुले त्यस्ता सामान, केमिकल, यूरीया हाल्ने गर्दछन् ।

 आन्तरिक राजस्व कार्यालयका अधिकृत टेकबहादुर चौधरीले  एउटा घर भित्र पाँच वटा सम्म स–साना मदिरा उत्पादन भट्टी भेटिएको बताउनुभयो । पूर्व – पश्चिम राजमार्गको छेउछेउमा अबैध रुपमा मादिरा उत्पादन गरी आएका उनीहरु विरुद्ध स्थानीय केहि व्यक्तिले कारवाही गर्न प्रशासनलाई दबाव दिदै आएका थिए ।

उत्पादित अवैध मदिरा कृष्णनगर चन्द्रौटा क्षेत्र हुदै भारतीय बजारसम्म जाने गर्दछ । व्यवसायिक रुपमै अवैध मदिरा उत्पादन गर्दै आएका उनीहरुले मानवजीवन संग ठूलो खेलवाड गरेको भन्दै प्रशासनले पक्राउ गरि सार्वजनिक मुद्धा चलाइने बताउनुभयो ।
आफैमा मन्द विष मानिने घरेलु मदिरा अझ त्यसमाथि पनि यूरिया र स्प्रिट एसिडको प्रयोगले मृगौलामा छिटो र प्रत्यक्ष असर पार्ने कपिलवस्तु सामुदायिक अस्पतालका डा दिपेन्द्र चन्द बताउनुहुन्छ । “यसले मुुटु, कलेजो, फोक्सो, आन्द्रा तथा मष्तिष्कमा समेत नराम्ररी असर गर्छ” उहाले भन्नुभयो ।  यस किसिमका मिसावट भएको विषाक्त मदिराले तत्कालै ज्यान समेत जान सक्ने उहाँको भनाई छ । यस अघि पनि प्रशासनले पटक पटक अवैध मदिरा बनाउनेहरुलाई कारवाही गर्ने, मदिरा नष्ट पार्ने र छापा हान्ने कार्य गरिरहेपनि उनीहरुले उक्त पेशा छाडेका छैनन् । “आउछन, छापा हान्छन् २–४ लिटर पोख्याउछन, सिल्टीको भाडा लान्छन, अरु के नै गर्छन” एक मदिरा उत्पादक महिलाले भनिन् । आफुहरुलाई जीवन निर्वाहको अन्य विकल्न नदिए सम्म यो पेशा नछाडिने उनीहरुको भनाई छ ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना