• ६ चैत २०८०, मङ्गलबार

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाइने

blog

काठमाडौं, असोज १ गते । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज (शनिबार) नै संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले यसअघिका बैठकमा दिनुभएको बयानमा हस्ताक्षर गरिसकेकाले आज नै समितिको दोस्रो बैठक बसेर संसद् सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद एवम् महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद् सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताउनुभयो ।

उहाँले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गर्नुभएको र समिति सदस्यहरूको प्रतिप्रश्नको समेत जवाफ दिनुभयो ।

समितिका सदस्य विश्वकर्माले भन्नुभयो, ‘आज सुरुमा नै म प्रधानन्यायाधीश जबराले सबैमा हस्ताक्षर गर्छु भन्नुभयो । उहाँले खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिनुभएको बयानमा हस्ताक्षर गर्नुभयो । त्यसपछि सदस्यहरूले प्रतिप्रश्न गर्नुभयो । प्रतिप्रश्न गर्दा थप प्रस्ट गर्ने काम भयो । दफावार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो । पहिलो चरणको बैठक सम्पन्न भएको छ, दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ । दोस्रो बैठक ३ बजे बस्छ । दोस्रो चरणमा हामी प्रतिवेदनको निर्माणार्थ पेस हुन्छ । सचिवालयमा हामी बुझाउँछौँ । मस्यौदा ३ बजेको बैठकमा समितिमा पेस हुन्छ ।’

समितिको बैठकपछि सञ्चारर्कीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताउनुभयो

उहाँले भन्नुभयो, ‘‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रूप लिएर अघि बढ्छौँ । आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ ।’’

समितिको दोस्रो बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।