• ६ चैत २०८०, मङ्गलबार

अग्रिम टिकट बुकिङ आजदेखि सुरु

दशैँमा घर जान टिकट काट्नेको घुँइचो (फोटो फिचर)

blog

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड । तस्बिर : सुजन गुरुङ

काठमाडौं, असोज १ गते । दशैँका लागि आज (शनिबार)बाट सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ गतेदेखि सार्वजनिक बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो ।


आज बिहान ७ बजेदेखि बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड छ । टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नका लागि भीड लागेको देख्न सकिन्छ ।

नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला, चाबहिललगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् । काठमाडौंबाट दशैँको समयमा लाखौं यात्रुले उपत्यका छोड्छन् ।

यातायात व्यवस्था विभागले दशैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।


आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियत प्रदान गर्ने निर्णय विभागले यसअघि नै गरेको थियो ।

यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ ।