प्रचण्डको नेतृत्वमा ‘हेडक्वाटर’

सरोज ढुङ्गेल

Prachadna by shekhar2काठमाडौँ, जेठ ११ गते ।  नेकपा (माओवादी केन्द्र)ले तत्काललाई बहुपदीय संरचनामा नजाने निर्णय गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नौ सदस्यीय केन्द्रीय कार्यालय (हेडक्वाटर)
गठन गरेको छ ।   नेकपा माओवादी केन्द्रकी नवनियुक्त प्रवक्ता पम्फा भुसालले तत्कालका लागि पार्टी एकपदीय संरचनामै रहने निर्णय केन्द्रीय समितिले गरेको जानकारी दिनुभयो ।  प्रचण्ड नेतृत्वको केन्द्रीय कार्यालय (हेडक्वाटर) मा रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहनुभएको छ ।  माओवादी केन्द्रको विधानमा पार्टीलाई बहुपदमा लैजाने व्यवस्था भए पनि अहिलेलाई अध्यक्ष मात्र चुन्ने र तल्ला कमिटीसम्म एकता प्रक्रिया टुङ्गिएपछि पार्टी बहुपदमा जाने प्रवक्ता भुसालले जानकारी दिनुभयो ।  
यस्तै, बैठकले सातवटै प्रदेशमा एकता भेला गर्ने निर्णय पनि गरेको छ ।  बैठकले जेठ २० गतेदेखि असार ११ गतेसम्म प्रदेश एकता भेला गर्ने निर्णय गरेको प्रवक्ता भुसालले बताउनुभयो ।  जेठ २० गते ३ नम्बर प्रदेशको काठमाडौँ, २२ गते २ नम्बर प्रदेशको बर्दिवास, २४ गते ४ नम्बर प्रदेशको पोखरा, २६ गते ५ नम्बर प्रदेशको दाङ, २८ गते ६ नम्बर प्रदेशको सुर्खेत, असार ८ गते १ नम्बर प्रदेशको इटहरी,  ११ गते ७ नम्बर प्रदेशको धनगढीमा एकता भेला गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै एक हप्ताभित्र ५१ सदस्यीय सचिवालय बनाउने निर्णय पनि बैठकले गरेको छ ।  बैठकले पूर्वपदाधिकारी तथा स्थायी समिति सदस्यसहितको २३ सदस्यीय सचिवालय र ६५ सदस्यीय पोलिटब्युरो पनि गठन गरेको छ ।  
त्यसैगरी, केन्द्रीय समिति बैठकले एक साताभित्र १५१ सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको छ ।   बैठकले हरेक प्रदेशको एकता संयोजन समिति पनि बनाएको छ ।  केन्द्रका केन्द्रीय सदस्य ओमविक्रम भाटका अनुसार १ नम्बर प्रदेशमा राम कार्की, २ नम्बर प्रदेशमा गोपाल ठाकुर, ३ नम्बर प्रदेशमा लीलामणि पोखरेल, ४ नम्बर प्रदेशमा डिलाराम आचार्य, ५ नम्बर प्रदेशमा चन्द्र खनाल (बलदेव), ६ नम्बरमा जनार्दन शर्मा ‘प्रभाकर’, ७ नम्बरमा लेखराज भट्ट संयोजक रहेको एकता संयोजन समिति बनाएको छ ।  
यस्तै प्रकाशन विभागको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको छ भने विधान कार्यविधि निर्माणको जिम्मा वर्षमान पुन र प्रवासको जिम्मा नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना