• ६ चैत २०८०, मङ्गलबार

फूल निर्यातमा उच्च गिरावट

blog

काठमाडौँ, असोज १ गते । कोरोना महामारीका कारण फूलको निर्यात उच्च दरमा घटेको छ । महामारीअघि वार्षिक २० करोड रुपियाँसम्मको फूल निर्यात भइरहेकामा अहिले एक करोडभन्दा कममा झरेको व्यवसायीले बताएका छन् ।

“फूलको आयातमा वृद्धि भइरहेको छ तर निर्यात घटिरहेको छ,” फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का महासचिव विश्वमणि पोखरेलले भन्नुभयो । उहाँका अनुसार आव २०७८÷७९ मा ९८ लाख रुपियाँको मात्र फूल निर्यात भएको छ जब कि त्यसअघि १९ करोडदेखि २० करोड रुपियाँसम्मको फूल निर्यात हुन्थ्यो । 

फ्यानको ३०औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार पोखरेलले कोभिड–१९ का कारण थुप्रै नर्सरी बन्द भएका र भएका नर्सरीबाट पनि थोरै उत्पादन भइरहेको जानकारी दिनुभयो । “निर्यात घटेको मात्रै होइन, आन्तरिक माग पूरा गर्न पनि पर्याप्त स्वदेशी उत्पादन छैन,” भारतबाट फूल आयात हुँदा नेपाली फूल उत्पादनमा समस्या भएको चर्चा गर्दै उहाँले भन्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ, वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले फूलको निर्यात घट्नु अर्थतन्त्रका लागि राम्रो सङ्केत नरहेको बताउनुभयो । 

उहाँले फूलको मात्र होइन, अन्य वस्तुको अवस्था पनि त्यस्तै भएको बताउनुभयो । विभिन्न कारणले आर्थिक गतिविधि खस्किँदै गइरहेकाले बजारमा तरलता अभावको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । “भारतबाट मात्र ३८ करोड रुपियाँभन्दा बढी मूल्यको फूल आयात भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न सरकारले कदम चाल्नैपर्छ,” उहाँले भन्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष सकुन्तालाल हिराचनले नेपालमा फूल उत्पादन भए पनि भारतबाट आयात भइरहेका कारण यहाँका फूल व्यवसायी मारमा परेको बताउनुभयो । 

सो कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले फूल निर्यात प्रवद्र्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । त्यसका लागि प्रस्ताव ल्याउन फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)सँग आग्रह गर्नुभयो । “सरकारले तालिम, गोष्ठीमा बजेट दिन सक्दैन तर फूलको निर्यात कसरी बढाउन सकिन्छ, त्यसका लागि लगानी गर्न सक्छ,” उहाँले भन्नुभयो । सहसचिव मिश्रले पाँच वर्षका लागि एउटा प्रस्ताव तयार गरेर दिन आग्रह गर्नुभएको हो ।

कार्यक्रममा फ्यानका पदाधिकारीले भारतबाट भइरहेको फूलको आयातका कारण नेपाली फूल निर्यातमा समस्या भइरहेको धारणा राखेपछि सहसचिव मिश्रले प्रस्तावका लागि आग्रह गर्नुभएको हो ।

आव २०७८/७९ मा दुई अर्ब ३० करोड रुपियाँको कारोबार भएको थियो भने त्यसअघि आव २०७७/७८ मा एक अर्ब ६३ करोड रुपियाँको फूलको व्यापार भएको फ्यानले जनाएको छ । गत वर्ष भारत, चीन, नेदरल्यान्ड, भियतनाम, जापान, थाइल्यान्डबाट करिब ३६ करोडको फूल आयात भएको थियो । विभिन्न ४८ जिल्लामा हाल १७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ ।