• २ चैत २०८०, शुक्रबार

त्रियासी वर्षीयाको तलब पन्ध्र सय

blog

विजयकुमार साह 

ढल्केबर, असोज १ गते । धनुषाको धनुषाधाम नगरपालिका–३ की ८३ वर्षीया वृद्धा गङ्गामाया लामा अहिले पनि एक हजार पाँच रुपियाँ मासिक तलबभत्ता पाउने गरी जागिर गरिरहनुभएको छ। उहाँ यति न्यून तलब पाउँदा पनि सन्तुष्ट देखिनुहुन्छ। 

१९९६ साल जन्ममिति बताउनुहुने गङ्गामायाले जनकपुर गुठीअन्तर्गत धनुषाधाममा रहेको धनुषा धर्मशालामा २०३६ सालमा मासिक १७ रुपियाँ तलब पाउने गरी जागिर सुरु गर्नुभएको थियो। गुठीले धर्मशाला रेखदेख र सरसफाइको काम उहाँलाई दिएको थियो। अहिले पनि गङ्गामाया धर्मशाला रेखदेख र सरसफाइकै काम गर्नुहुन्छ। 

पहिलाको घर सिन्धुलीको गोठटार भएको उहाँले बताउनुभयो। ‘२०२९ सालमा श्रीमान् भक्तबहादुर लामा बसोबास गरेको जग्गा जमिन सबै सुटुक्क बेचेर अर्की आइमाइसँग भाग्नुभयो। तीन जना स–साना छोराछोरी र मलाई छोडेर गएपछि बालबच्चालाई हुर्काउन निकै समस्या भयो। यस्तैमा धनुषाधाममा लाग्ने मकर मेलाको चर्चा निकै सुनेकी थिएँ। त्यही मेला भर्न २०३४ साल माघ महिनामा धनुषाधाममा आएँ। यहीँ रमाइलो लाग्न थाल्यो र यतै बस्ने निधो गरेँ’, गङ्गामायाले विगत सुनाउनुभयो। 

यहाँ आउँदा जेठी छोरी शान्ति लामा ११, जेठो छोरा जसबहादुर लामा छ र कान्छो छोरा गोपाल लामा अढाई वर्षको काखे बालक थियो। सुरुमा यहीँ धर्मशालामा बालबच्चासहित बसेर चिया व्यापार गरेँ। त्यसपछि २०३६ सालमा गुठीले मासिक १७ रुपियाँमा तलब पाउने गरी धर्मशाला रेखदेख, सरसफाइको जिम्मेवारी दिँदै जागिर दियो। जागिर पाएपछि छोराछोरी हुर्काउन, पढाउन अलि सहज भयो। 

सुरुमा १७ रुपियाँ तलब दिए पनि एक वर्षपछि त्यसको दुई गुणा ३४ रुपियाँ दिन थाल्यो। यसरी तलब वृद्धि हुँदै अहिले एक हजार पाँच सय रुपियाँ पाउँछु, उहाँले भन्नुभयो। उहाँ यता आइकन एक पटक पनि पहिलाको घर जानुभएको छैन। उहाँ भन्नुहुन्छ, केका लागि जानु पहाडको घर, गाउँ जाने बाटो नै बिर्सें, श्रीमान्को नाम त बिर्सें, बालबच्चा र मलाई बिच्चलीमा पारेर सौता लिएर हिँड्ने श्रीमान्को नाम सम्झेर के गर्नु ? उहाँले सुनाउनुभयो। 

गरिबी र अभावमा बाल्यकाल बिताएका गङ्गामायाका छोरोछोरीको आर्थिक अवस्था र जीवन शैली भने अहिले फेरिएको छ। आफू पनि पढ्ने र गाउँघरमा ट्युसन पढाएर अगाडि बढेका उहाँको जेठो छोरा जसबहादुर जनपद प्रहरीको प्रहरी निरीक्षक हुनुहुन्छ। कान्छो छोरा गोपाल बैङ्कको जागिरबाट अवकाश प्राप्त गरिसक्नुभएको छ। छोरी शान्तिको धनुषाधाममै हुनेखाने परिवारमा विवाह भयो। 

“दुवै छोराका जनकपुर र काठमाडौँमा छुट्टाछुट्टै महल छन्। छोरी शान्तिलाई सुखसयल छ। छोराछोरीको जीवनबाट दुःख पीडाले बिदा लिएको वर्षौं भइसक्यो। छोराछोरी सबै सुखी र सम्पन्न छन्,” गङ्गामायाले भन्नुभयो। 

छोराछोरी आर्थिक रूपले सबल भइसके पनि उहाँ भने धर्मशालाको जागिर छोड्नुभएको छैन। उहाँ भन्नुहुन्छ, जागिरभन्दा पनि आपत्विपत् परेको त्यो बेला यही धर्मशाला बरदान बन्यो। यहीँ आश्रय पाएर जीवन गुजारेँ। अब यो ठाउँ छोडेर जाने मन छैन। बरु यहीँ मर्छु, गङ्गामायाले भन्नुभयो। 

स्थानीय युवा दुर्याधन महतोले पहिला–पहिला धर्मशालामा चौबीसै घण्टा बस्ने, त्यहीँ पकाएर खाने गर्ने गरेको भए पनि शारीरिक रूपले अशक्त हुँदै गएपछि उहाँलाई नातिले बिहान ल्याइदिने र साँझ लैजाने गरेको बताउनुभयो।