• ६ चैत २०८०, मङ्गलबार

वडा कार्यालयमा तालाबन्दी

blog

राजकुमार भट्टराई 

खोटाङ, भदौ ३१ गते । राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय एक सातादेखि बन्द रहेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले गत शुक्रबारदेखि वडाको सेवा बन्द गर्दै वडा कार्यालयमा ताला लगाएका छन् । 

फरक राजनीतिक दल भएकैकारण नगरपालिकाले वडाका सबै कामकाजमा हस्तक्षेप गरेको वडाका जनप्रतिनिधिको आरोप छ । नगरपालिकाले वडामा भएका योजनाहरू गुणस्तरहीन भएका कारण भुक्तानी रोकिएको तर हस्तक्षेप नभएको जनाएको छ ।

नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विसन राईले कुनै परीक्षण नगरी योजना गुणस्तरहीन रहेको भन्दै कागजमा लेखिदिएको वडाध्यक्ष चौहानको भनाइ छ । तर मध्यपहाडी लोकमार्ग, वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि गुणस्तरहीन भएको भन्दै अख्तियारमा उजुरी परेको र छानबिन भइरहेकाले भुक्तानी नदिएको नगरपालिकाले जनाएको छ । 

वडाध्यक्ष चौहानका अनुसार करिब एक महिना अघिदेखि वडामा सचिव नभएको र कार्यालय सहयोगीलाई पनि नगरपालिकाले करार म्याद नथपिदिएकाले वडा कार्यालय कर्मचारीविहीन बनाएर बन्दजस्तै गराएको थियो । 

सम्पन्न भएका योजनाको भुक्तानी गरिनु पर्ने, संविधानले वडालाई दिएको अधिकार हस्तक्षेप गर्न नहुने र कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भन्दै वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । 

वडा कार्यालय बन्द गरिएको एक सातासम्म पनि नगरपालिकाले कुनै चासो नदेखाएपछि बिहीबार वडाका जनप्रतिनिधिले नगरपालिका कार्यालयको चाबी बुझाएका छन् । चाबी बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले वडा सचिव अगाडि खटाइसकिएको र कार्यालय सहयोगीलाई पनि नहटाएको बताउनुभयो । 

एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधि एकातिर, सत्तारुढ गठबन्धनबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख अर्कोतिर हुँदा वडाका सर्वसाधारण चेपुवामा परेको स्थानीयको गुनासो छ । फरक राजनीतिक दल भएकै कारण नगरपालिकाले वडालाई हस्तक्षेप गरेको एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधिको आरोप छ ।