नेपालगञ्जमा सौर्य सडक बत्ती

सिराज खान


नेपालगञ्ज, जेठ ९ गते । बिद्युतको भार कम गर्न पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य मुख्य सडकमा सौर्य सडक बत्ती जडान गरिने भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ६० लाख रुपियाँ र उपमहानगरपालिकाको १५ लाख रुपियाँको लागतमा सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । यसका लागि टेण्डरसमेत आह्वान भइसकेको छ । सम्झौता लगायतका काम सम्पन्न भएपछि केही समय भित्रै काम शुरू हुने उपमहानगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा गणेशमान चोकदेखि धम्बोझीचोकमा सौर्य सडक बत्ती जडान गरिने योजना रहेको सो कार्यालयले जनाएको छ ।
अहिले उपमहानगरपालिकाले सडक बत्तीमै वार्षिक झण्डै चार लाख रुपियाँ खर्च गर्दै आएको छ । सौर्य सडक बत्तीले विद्युतको भार कम गर्ने र विद्युतमा हुँदै आएको खर्च कटौती हुने अपेक्षा गरिएको उपमाहनगरपालिकाका अधिकृत मोहन हमालले बताउनु भयो । नेपालगञ्जमा उपभोक्ताको संख्या बढेसँगै विद्युत् भार धेरै भएपछि लोडशेडिङ गर्नुपर्ने बाध्यता छ । त्यसैले, वैकल्पिक ऊर्जाको रूपमा सौर्य बत्ती जडान गर्न लागिएको उहाँको भनाइ छ ।
‘सौर्य बत्ती सफल भए अन्य ठाउँमा पनि विस्तार गर्ने लक्ष्य लिएका छौं,’ अधिकृत हमालले भन्नुभयो, ‘नगर क्षेत्रमा पर्याप्त घाम लाग्ने भएकाले सौर्य बत्ती प्रभावकारी हुने देखिएको छ ।’ यद्यपि, जाडोमा केही महीना समस्या हुन सक्ने उहाँले बताउनु भयो । नेपालगञ्जमा गर्मीयाममा अत्यधिक गर्मी हुन्छ भने चिसोमा हुुस्सु र तुवाँलोका कारण २ हप्तासम्म पनि घाम लाग्ने गरेको छैन ।  
उपमहानगरपालिकाले सौर्य सडक बत्ती निर्माणको योजनासँगै अन्य योजना पनि चालू आर्थिक वर्षभित्रै कार्यान्वयन गर्ने भएको छ । नगरमा अत्याधुनिक बसपार्क निर्माणका लागि टेण्डर भइसकेको छ । सम्झौता हुनेबित्तिकै काम शुरू हुने बताइएको छ । सुपरमार्केटसहितको बन्ने बसपार्क मध्यपश्चिमकै नमूना बनाउने योजना रहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकालाई आधुनिक शहरका रूपमा चिनाउन विभिन्न योजना अघि सारिएको अधिकृत हमालले जानकारी दिनुभयो ।
हाल एकिकृत शहरी विकास आयोजनाको कार्य तिव्र गतिमा सचांलनमा रहेको छ । जस अनुसार नगरका अधिकांश भागमा नाला तथा सडक निर्माणको कामहरु धमाधम भैरहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना