• ६ चैत २०८०, मङ्गलबार

सांसदहरुलाई एमालेको बिदाइ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ३१ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गरेको हो । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदलाई बिदाइ गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा सम्बोधन गर्नुहुँदै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरूको सूची बोकेर निर्वाचनमा जान निर्देशन दिनुभयो ।

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिनुभएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहकासाथ एमालेलाई बहुमत दिलाउने गरी निर्वाचनमा खट्न नेतालाई आग्रह गर्नुभयो । 

संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भन्नुभयो, “आज हामीले संसद्को अन्तिम क्षणमा हाम्रो दलका संसदीय दलका नेताको अध्यक्षतामा दलको बैठक बसेर हामीले प्रतिनिधि सभाका सांसदलाई बिदाइ गरेका छौँ ।” अध्यक्ष ओलीले हाम्रो नेतृत्वको सरकारमा बसेका बेलामा गरेका कामको फेहरिस्त बोकेर कार्य क्षेत्रमा खट्न निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो । 

गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामलाई चुनावी घोषणापत्रमा समेटी  नयाँ उत्साहकासाथ जनताको बीचमा जान अध्यक्ष ओलीले निर्देशन गर्नुभएको भट्टराईको भनाई छ । सो अवसरमा अध्यक्ष ओलीले सबै सांसदहरूलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो । 

“हामीले संसदमा जे जस्तो भूमिका निर्वाह गर्‍यौँ। सत्तामा बस्दा होस् । बाहिर बस्दा होस् । हामीले निर्वाह गरेको भूमिकाका लागि सबैलाई धन्यवाद दिनुभयो” प्रमुख सचेतक भट्टराईले थप्नुभयो, “अध्यक्ष ओलीले दत्तचित्त भएर सन्निकट निर्वाचनमा एमालेलाई बहुमत दिलाउन  सशक्त भूमिकाका साथ अगाडी बढ्न निर्देशन दिनुभयो ।”