• ६ चैत २०८०, मङ्गलबार

डेंगुको प्रकोप बढ्दै : १३ जनाको मृत्यु, १३ हजार बढीमा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, भदौ ३१ गते । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता १३ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले हालसम्म ७५ जिल्लाबाट १३ हजार ७ जनामा डेंगु पुष्टि भएको जनाएको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा नौ हजार ९७१ जनामा भएको छ । यस्तै, लुम्बिनीमा एक हजार ५१०, प्रदेश १ मा ४१७, सुदूरपश्चिममा ४०४, गण्डकीमा २९१, मधेस प्रदेशमा २२६ र  कर्णाली प्रदेशमा २९१ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम,  काभ्रे र चितवन गरी १० जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित छन् ।

नेपालमा हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ । यस अघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो । सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो ।

भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् ।

एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि यो लामखुट्टे बढी सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुटाई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।