• ६ चैत २०८०, मङ्गलबार

प्रहरी हौं भन्दै लुटपाट गर्ने तीन पक्राउ

blog

काठमाडौं, भदौ ३१ गते । प्रहरी हौं भन्दै नगद लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३० लाख २३ हजार २०८ रुपियाँ लुटपाट गरेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका–१ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका–३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका–१ घर भई काठमाडौं कपन बस्ने २० वर्षीय मीनबहादुर तितुङ (रोहित) रहेका छन् ।

काठमाडौं ठमेलस्थित ओरियण्टल मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिक तीन वटा मोटरसाइकलमा आएका पाँच जना अपरिचित व्यक्तिले प्रहरी हौँ भन्दै पीडितलाई जबरजस्ती मोटरसाइकलमा राखी डल्लु पुर्‍याई उक्त नगद, मोबाइल, लाइसेन्स र ब्लुबुक समेत रहेको झोला लुटपाट गरी फरार भएका थिए ।

घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित काठमाडौं कपनबाट पक्राउ गरको हो ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।