प्रधानमन्त्रीका सबै आश्वासन झुठा ः देउवा


लक्ष्मण पौडेल

भैरहवा, जेठ ९ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले झुठा आश्वासन मात्र बाँडेको आरोप लगाउनुभएको छ ।
 नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको ‘नेपालको संविधान कार्यान्वयन र चुनौती’ विषयक दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै देउवाले बिभिन्न स्थानमा पुगेर जनतालाई प्रधानमन्त्री ओलीले पुरा हुनै नसक्ने झुठा आश्वासन मात्र बाँडेको बताउनुभयो ।
‘लुम्बिनीमा प्रधानमन्त्री ओलीले पाँच हजार जना अट्ने हल बनाउँछु भन्नुभएको छ, पाँच हजार त के पाँच सय जना अट्ने हल पनि बनाउन सक्नुहुन्न, यस्ता आश्वासन केवल कल्पना मात्र हुन्’, देउवाले भन्नुभयो, ‘सर्भे नै नभईसकेको रेल नेपालमा कुदाउँछु, घर घरमा ग्याँस पु¥याउँछु भन्ने लगायतका ओलीको सबै भनाई असम्भव हुन् ।’
 देउवाले आफू जिम्मेवार प्रतिपक्षी भएको नाताले प्रधानमन्त्री ओलीको यस्ता आश्वासनहरुको पर्दाफास गर्ने समेत बताउनुभयो । ओलीले मंसिरमा स्थानीय निकायको चुनाव गर्ने कुरा पनि झुटो रहेको उहाँले दावी गर्नुभयो ।
बिभिन्न गाउँपालिकाको लागि अध्ययन गर्ने समितिलाई फागुन सम्मको म्याद दिई मंसिरमै चुनाव गराउने भनेर प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पार्ने काम मात्र गरेको आरोप लगाउनुभयो ।
   देउवाले संविधान कार्यान्वयन असम्भव नभएको बताउँदै केही चुनौती भने रहेको स्वीकार गर्नुभयो । संविधान कार्यान्वयनको बिषयमा आफुहरु रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको उहाँको भनाई थियो ।
  सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता गगन थापाले आफुहरु चुनावको लागि तयार रहेको तर, तोकिएको समयमा ओली सरकारले चुनाव गर्न नसक्ने बताउनुभयो ।
थापाले मधेशी जनताले मधेशको जिम्मा मधेश केन्द्रित पार्टीलाई नभई नेपाली कांग्रेसलाई दिएको दाबी गर्दै यसकारण अहिले मधेशको समस्या मिलाउने मुख्य जिम्मेवारी पनि आफूहरुकै भएको बताउनुभयो ।
अर्का नेता बालकृष्ण खाँणले नेपाली कांग्रेस तराईमै जन्मेको पार्टी भएकोले तराईको मुद्दा सम्बोधन गर्न सक्ने बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिका पदाधिकारीहरु एवं नेपाली कांग्रेसका भातृ संगठनका पदाधिकारीहरुलाई दुई दिनसम्म विविध बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताईएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना