• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः

पहुँच हुनेलाई दोहोरो सुविधा, नपाउनेलाई दुविधा !

blog

शैक्षिक सुधारको प्रतीक्षामा रहेको मेलौली नगरपालिका–६, स्थित जगदम्बा मावि । तस्बिरः गोकर्ण दयाल

बैतडी, भदौ ३१ गते ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा बैतडीका ५८ वटा विद्यालय छनोट भएका छन् । स्थानीय तहको सिफारिसमा छनोट भएका कतिपय विद्यालयले यसअघि प्रदेश सरकार र स्थानीय तहबाट समेत योजना पाएका विद्यालय नै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट हुँदा पहुँच हुनेलाई दोहारो सुविधा र वञ्चित भएका विद्यालय दुविधामा परेका छन् । 

२०३४ सालदेखि हालसम्म कतैबाट पनि भवन निर्माणाको योजना नपाएको पञ्चेश्वर गाउँपालिका–१, स्थित चतुर्बाहु आधारभूत विद्यालयले जनाएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पटक–पटक माग गर्दा पनि भवन निर्माणका लागि योजना नआएको चतुर्बाहु आधारभूत विद्यालयका प्रधानाध्यापक जीतसिंह घटालले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ स्थानीय तहले पहुँचका आधारमा सिफासिर गर्ने गरेको छ । हाम्रो विद्यालयले अहिलेसम्म प्रदेश, स्थानीय सरकार र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनको योजना पाउन सकेको छैनौं । जीर्ण भवनमा तीनसय विद्यार्थीलाई राखेर पढाइरहेका छौं । कक्षाकोठा नहुँदा एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गरिरहेका छौं ।”

पञ्चेश्वरको जस्तै पीडा मेलौली नगरपाकिला–६, हतरङ्गा स्थित जगदम्बा माविको पनि छ । हालसम्म कतैबाट पनि भवनको योजना नपाउँदा लगातार तीन वर्षदेखि राष्ट्रपति सुधार कार्यक्रमको माग गरे पनि छनोटमा नपरेको स्थानीय इश्वरी भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ मेयर र पूर्वमेयरको वडाका विद्यालयले दोहोरो तेहोरो सुविधाका भवन पाए पनि स्थानीय तहदेखि प्रदेश र सङ्घबाट पनि पहुँच भएकाले नै भवन र आइसिटीको योजना पाईरहेका  छन् । जगदम्बा माविले कतैबाट पनि भवनको योजना पाएन । ”  स्थानीय तहको सरकारसँग विद्यालय छनोटको कुनै मापदण्ड नहुँदा हुकुम प्रमाङ्गी र तजबीजका आधारमा योजना  छनोट गर्दा सेवासुविधाबाट वञ्चित दुर्गम गाउँका विद्यालयले परिवर्तनको अनुभूति गर्न नपाएको उहाँले बताउनुभयो  । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यो वर्ष आवेदन दिएका बैतडीका २२१ विद्यालयमध्ये स्थानीय तहको सिफारिस अनुसार ५८ वटा विद्यालय छनोट भएर आएको  शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो । गत वर्ष ६७ वटा विद्यालय छनोट भएको उहाँले बताउनुभयो । 

यो वर्ष छनोटमा परेका ५८ विद्यालय मध्ये सबैभन्दा बढी पुरचौंडी नगरपालिकाका १३ विद्यालय छन् । मेलौली नगरपालिका आठ वटा विद्यालय, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका ६ ÷६ वटा विद्यालय, पाटन नगरपालिकाका पाँच विद्यालय, डिलाशैनी गाउँपालिका चार, दशरथचन्द नगरपालिका चार, दोगडाकेदार गाउँपालिका चार, पञ्चेश्वर गाउँपालिका चार र शिवनाथ गाउँपालिकाकाचार विद्यालय गरि यो वर्ष ५८ वटा विद्यालय छनोट भएका छन् । 

छनोट भएका विद्यालयले चालु आर्थिक वर्षमा चार कोठे भवनका लागि ५० लाख रुपियाँ, दुई कोठे भवनका लागि २५ लाख रुपियाँ र सूचना प्रविधि जडान ( आईसिटी) का लागि छ लाख ५० हजार रुपियाँ पाउने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जनाएको छ । 

बैतडीका १० स्थानीय तहका ८४ वडामा ५२४ वटा सामुदायिक विद्यालय  छन् । तीमध्ये अधिकांश विद्यालयका भवन जीर्ण भए पनि राजनीतिक पहुँच र पूर्वाग्रहका आधारमा योजना बाँडफाँट हुँने गरेको गुनासो आउने गरेको छ । गुनासोका विषयमा शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले पहुँचका आधारमा योजना बाँडफाँट हुने गरेको स्वीकार गर्नुहुन्छ । 

उहाँले भन्नुभयो,“ शिक्षा विकास तथा समन्वय एकाइसँग योजना बाँड्ने कुनै अधिकार छैन । मापदण्ड बनाउने र अनुगमन गर्ने पनि अधिकार छैन । अधिकांश विद्यालय भवन जीर्ण भएको र छानो नभएको गुनासो लिएर कार्यालयमा आउने गर्नुभएको छ । गुनासो गर्नेहरुलाई स्थानीय सरकारसँग समन्वय गर्न आग्रह गर्दै फिर्ता पठाउने गरेका छौं ।” पञ्चेश्वर गाउँपालिका–१,को चतुर्बाहु आधारभूत विद्यालयको २०३४ मा बनेको जीर्ण भवन । 

Author

गोकर्ण दयाल