• ६ चैत २०८०, मङ्गलबार

कैदीबन्दीलाई हिँडाएर अस्पताल

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ ३१ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ मा रहेको खलङ्गा–कारागार–पीपलनेटा सडकखण्ड लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको छ। वर्षाले सडक बिग्रिएपछि सर्वसाधारणसँगै कारागारमा रहेका कैदीबन्दी बिरामी हुँदा अस्पतालमा पु-याउन मुस्किल भएको हो।

कारागार कार्यालयका प्रमुख अकवीर घर्तीका अनुसार असार अन्तिम सातादेखि उक्त सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडकमा गाडी चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीबन्दीलाई अस्पताल र अदालत लैजान समस्या हुने गरेको उहाँले बताउनुभयो। “कैदीबन्दी बिरामी हुँदा गाडीमा लैजान सडक छैन,” प्रमुख घर्तीले भन्नुभयो, “स्ट्रेचरमा बोकेर अस्पताल दौडाउनुपर्ने बाध्यता छ। राति बिरामी हुँदा निकै समस्या भएको छ।” अस्पताल लैजाँदा मात्र होइन, अदालती कार्यका लागि कैदीलाई हिँडाएरै लैजानुपर्र्ने अवस्था छ। कारागार कार्यालयबाट रुकुम अदालत एक किलोमिटर र जिल्ला अस्पताल करिब तीन किलोमिटर टाढा छ । हिँडाएरै लामो दूरीसम्म कैदीबन्दीलाई लैजानुपर्ने भएकाले सुरक्षा चुनौती थपिएको छ । 

मुसीकोट नगरपालिका–१, वराहटाकुरादेखि कारागारसम्मको बाटोमा नाला नहुँदा सडकबाटै बर्खामा भेल बग्ने गरेको छ। सडक बिग्रिएपछि सवारीसाधन चल्दैनन् भने सर्वसाधारणलाई आउजाउमा समेत समस्या हुने गरेको छ।

खलङ्गा बजारको नालासमेत सोही सडकखण्डमा मिसिएका कारण स्थानीयलाई पैदल हिँड्न पनि समस्या भएको स्थानीय रविलाल नेपालीले बताउनुभयो। उक्त सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि सम्बन्धित निकायले कुनै पनि चासो नदिएको उहाँको भनाइ छ। जसका कारण मुख्य बजारबाट सामान ओसारपसार गर्न र बिरामी हुँदा अस्पताल पु-याउन असहज भएको छ। उक्त सडक अवरुद्ध भएपछि खलङ्गा बजारबाट कारागार हुँदै पीपलनेटा जाने यात्रु तथा सवारीसाधन मुसीकोट नगरपालिका–५, सेरिगाउँ पुगेर घुम्नुपर्ने बाध्यता रहेको जनाइएको छ।