दशबुँदे घोषणापत्र जारी गर्दै बौद्ध सम्मेलन सम्पन्न


लक्ष्मण पौडेल

भैरहवा, जेठ ८ गते । अन्तर्राष्टिय बौद्ध सम्मेलनले ग्लोबल बुद्धिष्ट फोरम बनाउने सहित १० बुँदे लुम्बिनी घोषणापत्र जारी गरेको छ ।
यसको उद्देश्य विश्वभर शान्ति र भाइचाराको विकास गर्ने, मानवीय शान्ति, जनावरको अधिकार लगायतका कामहरु रहेको छ । यो बुँदा पारित हुनु सबैभन्दा उपलब्धीमुलक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले बताउनुभयो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार आयोजित २५६०औँ बुद्ध जयन्ती समारोहमा सहभागीहरु । तस्बिर : रासस

२५६० औं बुद्ध जयन्तीको अवसर पारेर सरकारले शनिबार लुम्बिनीबाट उक्त घोषणापत्र जारी गरेको हो । काठमाडौंमा ६ र ७ गते बौद्ध सम्मेलन आयोजना गरेको सरकारले तेस्रो दिन लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा दशबुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
‘दोस्रो बुँदामा बुद्ध धर्म एशियाको मात्र ज्योती होइन, समग्र विश्वकै ज्योती हो, विश्व शान्तीको प्रस्थान बिन्दु नेपाल हो भन्ने कुरा पनि पारित भएको छ’ मन्त्री पोखरेलले भन्नुभयो ।
 यसैगरी लुम्बिनी विकासको मास्टर प्लान बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गर्ने पनि सहमति भएको छ ।
लुम्बिनी विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्ट बनाउने १० बु्ँदे घोषणामा उल्लेख छ । बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बाँडेको भारतकै सारनाथ र बुद्धले मृत्यूवरण गरेको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।
सम्मेलनमा सहभागीहरुले नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरेका छन् ।
बौद्ध सम्मेलन तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३८५ जना विद्धान तथा भिक्षुहरुको सहभागिता रहेको थियो । सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, चीन, जर्मनी भारत, जापान, लुथानिया, मलेसिया, मंगोलिया, कतार, रोमानिया, दक्षिण कोरिया, श्रीलंका, स्वीट्जरल्यान्ड, थाइल्याण्ड, टर्की, युके, अमेरिका, भियतनामका विद्धान र विक्षुहरु सहभागी रहेका थिए ।
  सम्मेलनमा भारतबाट ९ जनाको टोली आएको थियो भने चीनबाट ३०१ जना, कोरियाबाट ९ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट ७ जना सम्मेलनमा भाग लिन आएका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना