राजनीतिक आडमा नदीजन्य पदार्थमा तेब्बरभन्दा बढि मोल


बसन्त गिरी
कपिलवस्तु , जेष्ठ ८ गते । जिल्लाका विभिन्न स्थानको नदीजन्य पर्दाथको ठेक्का लिएका ठेकेदारले जिल्ला विकास समितिले तोकेको भन्दा दोब्बर तेब्बर बढि रकम लिइरहेका छन् ।

नदीजन्य पर्दाथको चरम अभाव भएको बेला दुई महिनाको लागि मात्र खोलिएका नाकाहरुमा चाप बढेपछि ठेकेदारले मनपरी रकम उठाउने गरेका हुन् । अगिया खोलाको गव्दहवा नाका, गुगौलीको चिरई नाका र भलवाडको धीरी नाकाका ठेकेदारले गैरकानूनी ढंगबाट तेब्बर रकम लिने गरेका छन् । जिल्ला विकास समितिले तोकेको एक सय क्यूफिटको ३३९ रुपियाँ करसहित लिनुपर्नेमा ठेकेदारले विभिन्न कारण देखाउदै सात सयदेखि नौं सय रुपियाँसम्म लिने गरेका छन् ।

सबैभन्दा बढि बरकुलपुरको गव्दहवा नाकाबाट रकम असुली गरिएको छ । ढुंगा, गिट्टी र बालुवा लिन जाने ट्याक्टर तथा ट्रिपरसँग ठेकेदारहरुले सडक मर्मत, विद्यालय सहयोग, खाजा खर्च तथा रोयल्टी भन्दै रकम उठाउने गरेका छन् । स्थानीय ढुवानीकर्ता राजेश थारुले प्रति ट्रली नौं सय रुपियाँ लिने गरेपनि रसिद भने ३३९ रुपैयाको मात्र दिने गरेको जानकारी दिनुभयो । “अरु रकमको रसिद माग्दा धम्क्याउँछन्” उहाँले भन्नुभयो । आफुहरुले बढी रकम तिर्दा उपभोक्तालाई नै मार पर्ने बताउँदै उनले सामान्य रुपमा १५ सय रुपियाँमा आउने बालुवा बढी रकम तिर्नु परेका कारण २५ सय रुपियाँसम्म पर्ने गरेको थारु बताउनुहुन्छ । एमाले जिल्ला नेता आजाद अहमद दर्जीको ठेक्का रहेको सो नाकामा प्रहरीलाई समेत निषेध भएको बताइन्छ ।  सो नाका दर्जीको शाहिदा निर्माण सेवाले ३७ हजार घनमिटर नदीजन्य पर्दाथ निकासीका लागि ५० लाख रुपियाँमा ठेक्का लिएको थियो ।

केहि दिन अघि नाकाको अवैध असुली तथा नक्कली बिल प्रयोग बारे व्यापक गुनासो आएपछि गएको पत्रकारको टोलीलाई समेत उनीहरुले धम्क्याएका थिए । एमाले नेताको ठेक्का भएकै कारण प्रशासनले कारवाही नगरेको भन्दै स्थानियबासीले चर्को विरोध समेत गरेका छन् । नक्कली बिल प्रयोग गर्छन, क्याम्पस, सडक, घाटगद्दी भन्दै तेब्बर रकम लिन्छन् जिविसमा पटक पटक उजुरी गरियो, प्रशासनमा भनियो, किन कारवाही हुदैन बरकुलपुरका माधव अधिकारीले गुनासो गर्दे भन्नुभयो ।

यस्तै जिल्लाको गुगौली र शिवगढी गाविसमा रहेको चिरई नाकाका ठेकेदारले पनि मनपरी रकम असुल गरिरहेका छन् । स्थानीय प्रशासनको पहुचबाट निकै टाढा मानिने सो क्षेत्रमा तीन किसिमका बिल प्रयोग गरिन्छ । ओम कन्ट्रक्सन कम्पनीले ३६ हजार छ सय घनमिटरका लागि ४४ लाख ४४ हजार रुपियाँमा नाका ठेक्कामा लिएको थियो । दोब्बर रकम उठाउादै गर्दा गत वैशाखमा प्रमुख जिल्ला अधिकारी इन्दू घिमिरेले रंगेहात ठेकेदारलाई पक्राउ गरि कारवाही समेत गरिएको थियो । कारवाही पश्चात् पनि ठेकेदारले अवैध रकम लिन छाडेका छैनन् । ठेक्का सम्झौतामा उल्लेख भए अनुसारको मापदण्ड समेत ठेकेदारले पालना नगर्दा किनारका बस्ती जोखिममा पर्ने र भू क्षयको सम्भावना समेत बढेर गएको छ ।

जिविसले सम्झौतामा स्पष्टरुपमा चार फुटभन्दा गहिरो खन्न नपाइने, चुरे उत्खनन् गर्न नमिल्ने , सिमांकन भन्दा बाहिर गएर नदीजन्य पर्दाथ संकलन गर्न नपाइने मापदण्ड तोकेको थियो । तर ठेकेदारले त्यसको वेवास्ता गर्दै आफु खुशी गरिरहेका छन् ।

ठेकेदारहरुले भने आफुहरुले ठेक्का सम्झौता अनुसार रकम लिने गरेको दाबी गर्छन् । आफुहरुले कोहीसँग बढि रकम नलिएको र कुने पनि नक्कली बिल प्रयोग नगरेको ठेकेदार आजाद अहमद दर्जी बताउनुहुन्छ ।

जिल्ला विकास समितिले दुबै नाकाबाट पटक पटक बढि रकम लिएको जन गुनासो आउने गरेको जनाएको छ । राजस्व फाँट प्रमुख शान्ताराज आर्चायले दुबै नाकाका ठेकेदारलाई गैरकानूनी कार्य नगर्न सचेत गराएपनि अटेर गरेको स्वीकार्नुभयो । “पटक पटक सम्झाउँदा लागेन अब कारवाही प्रक्रियामा जान्छौ” उहाले भन्नुभयो । धीरी नाकाका ठेकेदारलाई भने कारवाही भइरहेको उहाँले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना