• ६ चैत २०८०, मङ्गलबार

खासाबाट दैनिक दुई कन्टेनर भित्रिँदै

blog

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ ३१ गते । तातोपानी नाका आंशिक रूपमा खुला भएको छ । अहिले यो नाकाबाट दैनिक दुई–तीन मालवाहक कन्टेनर नेपाल भित्रिने गरेका छन् ।तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत लक्ष्मण बास्तोलाले बिहीबार चीनको खासाबाट दुईवटा कन्टेनर भित्रिएको जानकारी दिनुभयो । उक्त दुई गाडीमध्ये एउटाले जलविद्युत् आयोजनाका उपकरण र अर्कोले ऊन लिएर आएको बास्तोलाले बताउनुभयो । 

बिहीबारसम्ममा उक्त नाकाबाट १३ वटा मालवाहक कन्टेनर तातोपानी भन्सार कार्यालय आएको अधिकृत बास्तोलाले बताउनुभयो ।

कोरोना महामारीका कारण देखाउँदै चीनले साउन २५ गतेदेखि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो । सो कारण व्यापारीले चाडपर्व लक्षित सामान तातोपानी नाका हुँदै नेपाल ल्याउन लागेका थिए । यसैबेला तिब्बती क्षेत्रमा लकडाउन भएपछि सामानले भरिएका कन्टेनर चिनियाँ भू–भागमा रोकिएका थिए । 

नेपाल सरकार, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घ, व्यापारी व्यवसायीको प्रयासमा चीनले भदौ २६ गतेदेखि तातोपानी नाका खुलाएको थियो । 

चीनका भू–भागमा अड्किएका सामान नेपाल पठाउन मात्रै चिनियाँ पक्षले नाका खुलाएको बताउँदै आइएको छ । पूर्ण रूपमा नाका सञ्चालन हुनेबारे कुनै जानकारी नआएको बास्तोलाले थप्नुभयो । 

हालसम्म आएको १३ वटा कन्टेनरमध्ये धेरैजसोमा स्याउ र लसुन भित्रिएका छन् । कतिपय गाडीका स्याउ काम नलाग्ने गरी कुहिएका छन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले नेपाल–चीन सरकारले उत्तरी सीमाका सबै नाका पूर्ण रूपमा खुल्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । 

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले तातोपानी नाका र रसुवागढी नाका सधैँका लागि पूर्ण रूपमा खुल्नुपर्नेमा जोड दिनुभयो । जुरे पहिरो, भूकम्पअघिकै जस्तै गरी दुवै देशबाट आयात–निर्यात हुनुपर्नेमा जोड दिनुभयो ।