• ६ चैत २०८०, मङ्गलबार

मतदानस्थल अपाङ्गतामैत्री बनाउन माग

blog

नेत्रहीन संघले राजनीतिक दलका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाउँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, भदौ ३० गते । अपाङ्गता भएकाहरूले झापाका मतदानस्थल अपाङ्गतामैत्री बनाउनु माग गर्नुभएको छ । आफूहरूलाई मतदाताको रूपमा मात्र प्रयोग नगरेर राजनीतिक अधिकार सुनिश्चितताका लागि उम्मेदवार छनौटमा समेत प्राथमिकतामा राख्नुपर्ने माग राख्नुभएको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अपाङ्गता भएकालाई पनि उम्मेदवार बनाउन राजनीतिक दलहरूसँग उहाँहरूको आग्रह छ । नेत्रहीन युवा सङ्घ नेपालको आयोजना र संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार भएको छलफलमा सो माग गरिएको हो । 

नेत्रहीन युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले अपाङ्गता भएकाहरू राजनीतिक अधिकारबाट वञ्चित हुन नहुने बताउनुभयो । अपाङ्गता भएकालाई प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउन राजनीतिक दलले नसकेको जनाउँदै यसमा गम्भीर हुन आग्रह गर्नुभयो ।

अपाङ्गता भएकाहरूलाई निर्वाचन स्थलसम्म जान र मतदान गर्न असहज हुने अवस्था आउन नदिन सोहीअनुसारको व्यवस्थापन हुनुपर्ने जनाउँदै विगतको कमजोरी सच्याएर जानुपर्ने सुझाव दिनुभयो । हामीजस्ताको समस्या ध्यान दिएर मतदानस्थलको व्यवस्थापन हुनुपर्ने उहाँको भनाई छ । 

छलफलमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङ्गता भएकाबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउँदै अपाङ्गतामैत्री निर्वाचन स्थल बनाउन आफूहरू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । मतदान केन्द्रहरू अपाङ्गतामैत्री बनाउने अधिकतम प्रयास हुन्छ, उहाँले भन्नुभयो । 

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले संसद्मा अपाङ्गता भएकाहरूको प्रतिनिधित्वबारे स्पष्ट कानुनी व्यवस्था रहेको र सोहीअनुसार राजनीतिक दलले गर्नुपर्ने बताउनुभयो । राजनीतिक दलहरूले यस विषयमा गम्भीर हुनुपर्छ र अपाङ्गता भएकाले पनि अवसर पाउने अवस्था आउनुपर्छ उहाँले भन्नुभयो । 

नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईँ, नेकपा (एमाले) झापाका सचिवालय सदस्य देवराज कार्की, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी, जनता समाजवादी पार्टीका जिल्ला सहसचिव अर्जुनकुमार राई लगायतले अपाङ्गता भएकाहरूको राजनीतिक अधिकार सुनिश्चितताका लागि र अपाङ्गतामैत्री मतदान स्थल बनाउने विषयमा प्रतिबद्धता जनाउनुभयो ।