• ६ चैत २०८०, मङ्गलबार

पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

blog

भेरी अस्पतालको प्रांगणमा निर्माण गरिने रक्तसञ्चार भवनको शिलान्यास गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई। तस्बिर : सिराज खान

नेपालगञ्ज, भदौ ३० गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बिहीबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्नु भएको छ। 

वर्षा नरोकिएपछि पानीमा भिज्दै उहाँले बाँकेको डुडुवा ३ मा बनकट्टीलाई रामपुरवासँग जोड्ने डुडुवा नदीमा निर्माण गरिने पक्की पुल र नेपालगन्जस्थित भेरी अस्पतालको प्राङ्गणमा निर्माण गरिने रक्तसञ्चार केन्द्रको भवनको शिलान्यास गर्नुभयो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा गरेको दुवै ठाउँको संक्षिप्त शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विकास निर्माणलाई वर्षा र मौसमले रोक्न नसक्ने बताउनुभयो। 

सानो समयमा धेरै विकास गर्ने लक्ष्यका साथ आफू सो मन्त्रालयमा पुगेको जनाउँदै रातदिन खटिएर विकास निर्माणका योजना बनाइरहेको र कार्यान्वयनमा लगिरहेको उहाँले बताउनुभयो। 

मन्त्री राईले डुडुवा नदीमा पुल नहुँदा स्थानीयलाई आवागमनमा निकै समस्या हुने गरेको र पश्चिम नेपालकै सम्पूर्ण गम्भीर बिरामीलाई रगत उपलब्ध गराउँदै आएको रक्तसञ्चार केन्द्रको भवन नहुँदा सेवा प्रवाहमा समस्या भएकोले भवन निर्माण गराउन लागिएको बताउनुभयो। 

पक्की पुल निर्माणको शिलान्यास कार्यक्रममा सो क्षेत्रका जनप्रतिनिधिसँगै स्थानीयको पनि सहभागिता रहेको थियो भने रक्तसञ्चार केन्द्र भवनको शिलान्यास समारोहमा भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईँ, रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झना, नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई लगायतको सहभागिता रहेको थियो। 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा लगायतको उपस्थिति थियो।

यसअघि मन्त्री राईले बुधबार नेपालगन्ज–गुलरिया सडकखण्ड फोरलेन गर्ने कार्य र नेपालगन्जका पाँच चोकमा जडान गरिने पाँच वटा ट्राफिक सिग्नल लाइट निर्माणको पनि शिलान्यास गर्नु भएको थियो। 

यसैगरी एकसाता अघिमात्रै उहाँले जमुनाहा राँझा सडकखण्डमा अस्फाल्ट सडक निर्माणसँगै पाँच वटा आकाशेपुल निर्माणको शिलान्यास गर्नुभएको थियो। सोही प्रकारले डुडुवा खोलामा निर्माण गरिने पाँच वटा पक्की पुल र राप्ती नदीमा निर्माण गरिने नयाँ र फराकिलो पुल निर्माणको पनि शिलान्यास गर्नुभएको थियो।  

Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।