• ६ चैत २०८०, मङ्गलबार

सौराहामा फोटो पत्रकार महासंघको महाधिवेशन सुरु

blog

फोटो पत्रकार राजेश ढुंगानालाई सम्मान गर्नुहुँदै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल। तस्बिर : वसन्त पराजुली

भरतपुर, भदौ ३० गते। नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन बिहीबारबाट सौराहामा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले पत्रकारको पेसालाई व्यावसायिक बनाउँदै विशिष्टीकृत र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो। 

“पत्रकारितामा भविष्य छ भन्ने देखाउन पनि यसको मर्यादा र व्यावसायिकतामा जोड दिन जरुरी छ”, उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा जस्तै पत्रकारितामा पनि अब विशिष्टीकरण हुन जरुरी छ।”

उहाँले फोटो झुट नहुने बताउँदै फोटो पत्रकारिताको विकास भएमात्रै पत्रकारिता भित्रका विकृतिको अन्त्य हुने बताउनुभयो। प्रदेश सरकारले पत्रकारको क्षमता विकासका लागि तालिम, सभा समारोह, गोष्ठी तथा भवन निर्माणमा  सहयोग गर्ने योजना अघि सारेको उहाँको भनाइ छ। 

नयाँ नेतृत्व चयनका साथ महाधिवेशन शनिबार सम्पन्न हुनेछ। महाधिवेशनमा देशभरबाट ६ सय जना फोटो पत्रकारको सहभागिता रहेको महासचिव हरी रेग्मीले जानकारी दिनुभयो। 

उक्त अवसरमा फोटो पत्रकार राजेश ढुङ्गाना सम्मानित हुनुभएको छ। महासङ्घले उहाँलाई सम्मान पत्र र दोसल्लाका साथ सम्मान गरेको हो। उहाँ गोरखापत्र अनलाइनमा मेरो तस्बिर स्तम्भका लागि तस्बिर खिच्नुहुन्छ।