आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

विश्वास रेग्मी

 

काठमाडौँ, जेठ ६ गते ।  सिद्धार्थ गौतम बुद्धको जन्मस्थान र बौद्ध दर्शनका विषयमा फैलाइएका भ्रम चिर्ने लक्ष्यसहित काठमाडौँमा बिहीबारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ ।  
‘लुम्बिनी ः भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने आशयसहित विश्वका दुई दर्जन देशका बौद्ध धर्मावलम्बी नेपाल भित्रिएका छन् ।  
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विश्वका २८ देशका सरकारी प्रतिनिधि, धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता गरी चार सयको सङ्ख्यामा आगन्तुक सम्मेलनमा सहभागी हुन आइसकेका छन् ।  सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।  
दुई दिन राजधानीमा सञ्चालन हुने उक्त सम्मेलनमा बुद्धसँग सम्बन्धित विभिन्न १९ वटा कार्यपत्र प्रस्तुत हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।  
“बुद्ध नेपालमा जन्मिएका मात्र होइनन् कर्मथलो पनि नेपालमै हो भन्ने जानकारी सम्मेलनले दिनेछ”, उहाँले भन्नुभयो ।  नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रूपमा समेत विकास गर्न सम्मेलन सहयोगी हुने उहाँको भनाइ छ ।  
बौद्ध सम्मेलनमा विभिन्न देशबाट प्रस्तुत हुने कार्यपत्रले पनि बुद्ध नेपालमै जन्मिएका हुन् र नेपाल बौद्ध दर्शनको उद्गम स्थान हो भन्ने तथ्यमा ऐक्यबद्धता जनाउने उहाँले बताउनुभयो ।  
सम्मेलनमा भारत, चीन, श्रीलङ्का, बङ्गलादेश, दक्षिण कोरिया, जापानलगायत विभिन्न २८ देशका बौद्ध दर्शनका ज्ञाताले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।  कार्यपत्र प्रस्तुत गर्ने काम शुक्रबारसम्म रहनेछ ।  
सम्मेलनले बुद्ध दर्शनसहित लुम्बिनीलाई विश्व शान्तिको स्थानका रूपमा स्थापित गर्ने अपेक्षा सरकारले लिएको छ ।  “यसअघि हामीले बुद्धका बारेमा अरूकै कुरा सुन्यौँ अनि पत्यायौँ तर अब तथ्यसहित बुद्धको जन्म, बौद्ध दर्शन र लुम्बिनी नै विश्व शान्ति क्षेत्र हो भन्ने प्रमाणित गर्नेछौँ”, मन्त्री पोखरेलले भन्नुभयो ।  नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक हब बनाउने लक्ष्य पनि सरकारले राखेको उहाँले जानकारी दिनुभयो ।  
ल्ुम्बिनीका अतिरिक्त तिलौराकोट, देवदह, रामग्रामको समेत विकास गरी धार्मिक पर्यटकीय स्थलका रूपमा चिनाउने लक्ष्यमा समेत सम्मेलन उपयोगी हुने मन्त्री पोखरेलले बताउनुभयो ।  
विश्वभर नेपाललाई मानव कल्याण र बुद्धको देशको रूपमा चिनाउने अवसरलाई सम्मेलनमार्फत प्रयोग गरिने उहाँको भनाइ छ ।  “सम्मेलनले सबै नेपालीको स्वाभिमान र प्रतिष्ठालाई पनि माथि उठाउनेछ”, उहाँले भन्नुभयो ।     
लुम्बिनीमा बृहत् बुद्धजयन्ती
२५६०औँ बुद्धजयन्तीका अवसरमा सरकारले लुम्बिनीमा जेठ ८ गते बृहत् कार्यक्रम आयोजना गर्न भएको छ ।  
दुई दिन काठमाडौँमा सञ्चालन हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका सहभागीसमेत उक्त कार्यक्रमका लागि लुम्बिनीमा जम्मा हुनेछन् ।  
लुम्बिनीसँगै तिलौराकोट, देवदह र रामग्रामलाई आन्तरिक बुद्धिस्ट सर्किट बनाउने विषयमा समेत सोही दिन छलफलको कार्यक्रम राखिएको छ ।  
त्यस्तै विश्वशान्तिको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई अन्तर्राष्ट्रिय शान्ति अवार्डबाट सम्मानित गर्ने कार्यक्रम पनि राखिएको छ ।
अन्तिममा लुम्बिनी घोषणापत्र जारी गरी त्यसको कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय संयन्त्र निर्माण गरेर कार्यक्रम समापन गर्ने तालिका छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना