• ६ चैत २०८०, मङ्गलबार

वन सङ्काय आफ्नै शैक्षिक भवनमा

त्रिविवि र कृविविबीच विवाद कायमै

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ ३० गते । स्थापना कालदेखि जग्गा र भवनको विवाद झेल्दै आएको कृषि तथा वनविज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय, हेटौँडाले आफ्नै भवन पाएको छ । सङ्घीय सरकारको अनुदान सहयोगमा निर्माण भएको पाँच तले भवनमा अब वनविज्ञान सङ्काय डिनको कार्यालयसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ ।

वनविज्ञान सङ्काय डिनको कार्यालय र शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसको भवनमा सञ्चालन हुँदै आएको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय ऐन, २०६७ मा त्रिविविको आङ्गिक क्याम्पसका रूपमा रहेको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, रामपुर कृषि क्याम्पस र हेटौँडा वन क्याम्पसलाई समावेश गरी कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गर्ने व्यवस्था भए पनि हेटौँडामा जग्गा र भवनको विवाद कायमै रहेको छ । दुई विश्वविद्यालयबीचको जग्गा र भवन स्वामित्वको विवाद अदालतसम्म पुगेको छ । 

कृषि तथा वनविज्ञान विश्वविद्यालयको वनविज्ञान सङ्काय डिनको कार्यालय र केन्द्रीय क्याम्पस हेटौँडास्थित त्रिविविको हेटौँडा वन क्याम्पस परिसरमा स्थापना भएसँगै भवन र जग्गा स्वामित्वमा विवाद भई अध्ययन अध्यापनमा समस्या हुँदै आएकोमा नयाँ भवन निर्माण भएपछि समस्या केही मत्थर हुने देखिएको छ ।

वनविज्ञान सङ्कायका डिन डा. बलराम भट्टले भवन अभावको समस्यासँगै स्वामित्व विवादले विश्वविद्यालयको छविमासमेत नकारात्मक प्रभाव पर्दै आएकोमा आफ्नै नयाँ भवन निर्माणपछि प्रशासनिक र शैक्षिक गतिविधि सञ्चालनमा सहज हुने बताउनुभयो । विगतमा शैक्षिक भवन अभावमा दुई संस्थाको दिवा समूहमा कक्षा समय भए पनि बिहान, दिउँसो र बेलुकाको समयमा कक्षा र परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै यस शैक्षिक संस्थालाई प्रदेश सरकारले वन तथा वातावरण विश्वविद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

२०७६ जेठ ३० गते निर्माण सम्झौता भएको पाँच तले २० कोठे नयाँ शैक्षिक भवन गत असार ५ गते निर्माण सम्पन्न भएको हो । चार सय जना विद्यार्थी अध्ययनरत भवनको निर्माण लागत १० करोड १३ लाख ११ हजार ४४५ रुपियाँ रहेको छ । वनविज्ञान सङ्काय डिनको कार्यालयले यसअघि प्रयोग गर्दै आएको भवन त्रिविवि वनविज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसलाई हस्तान्तरण गर्न साँचो बुझाउन कार्यक्रम आयोजना गरिएकोमा उक्त कार्यक्रममा हेटौँडा क्याम्पस पदाधिकारीको अनुपस्थिति रहेको थियो । यसअघि कार्यालय र कक्षाकोठा सञ्चालन गरिएको भवन अदालतबाट निर्णय नभएसम्मका लागि हेटौँडा क्याम्पसलाई हस्तान्तरण गरिने र अदालतको निर्णय आएपछि सोहीअनुसार गर्ने डिन भट्टले बताउनुभयो ।