• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको शिष्टाचार भेट

उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध बलियो बनाउँछ : राष्ट्रपति भण्डारी

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुँदै जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्श । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। 

बुधबार राष्ट्रपति कार्यालयमा लीले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा राष्ट्रपति भण्डारीले चीनको सामाजिक र आर्थिक विकासबाट नेपालसहित विश्वले सिक्नुपर्ने बताउनुभएको छ। 

नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहँदै आएको र सो अनुसारको कार्य पनि गरेको स्पष्ट पार्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता उच्च तहको भ्रमणले नेपाल र चीनबीच रहिआएको सदियौँ पुरानो सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार  शिष्टाचार भेटमा नेपाल र चीन सुख दुःखका साथी भएको राष्ट्रपतिले उल्लेख गर्नुभएको छ। दुई देशले प्राकृतिक प्रकोप र विकास निर्माणमा साझेदारी गर्दै आएको कुरालाई समेत उहाँले स्मरण गर्नुभएको अधिकारीको भनाइ छ। राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चीन फिङको नेतृत्वमा चीनले गरेको सामाजिक र आर्थिक विकासका लागि उहाँलाई बधाई दिनुभएको छ। 

उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुहुँदै राष्ट्रपतिले भण्डारीले अध्यक्ष लीको भ्रमण सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।  


सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आउनुभएका लीले भ्रमणको पहिलो दिन मंगलबार सभामुख सापकोटासँग भेटवार्ता गर्नुभएको थियो। सभामुख सापकोटा अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्दै सहयोगसम्बन्धी छ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

भ्रमणको दोस्रो दिन अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो।प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो। मङ्गलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

त्यसैगरी यसअघि उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो।अध्यक्ष ली भ्रमण सम्पन्न गरेर भदौ ३० गते (बिहीबार) बिहान विशेष विमानबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ।