• ६ चैत २०८०, मङ्गलबार

६२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण

blog

भूमिहिनलाई जग्गाधनी लालपुर्जा वितरण गर्नुहुँदै मन्त्री श्रेष्ठ । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, भदौ २९ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरीका ६२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्नुभएको छ । 

मन्त्री श्रेष्ठले कानेपोखरी –६ स्थित रमाइलो जन एकता साकोसको सभाहलमा राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा सो प्रमाणपुर्जा वितरण गर्नुभयो । कानेपोखरी ६ का १८ परिवार भूमिहीन दलित र ४४ परिवार भूमिहीन सुकुम्वासीलाई  धनीपुर्जा प्रमाणपत्र वितरण गरिएको हो ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीका वर्षौँदेखिका समस्या समाधान हुन नसकेको बताउनुभयो । यो वा त्यो बहानामा राष्ट्रिय सार्वभौमिकताका विषयमा अविभाज्य रहनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा वैचारिक रूपमा विभाजित हुन नहुने जिकिर गर्नुभयो ।

प्राकृतिक रूपमा धनी मुलुक नेपाल आर्थिक रूपमा विकसित हुन नसकेको उहाँले चर्चा गर्नुभयो । “भूमिहीनका कुनै ठूलो महत्त्वाकाङ्क्षा छैन, आफ्नो घरमा मर्न पाइयोस् भन्ने मात्र चाहना देखिन्छ” मन्त्री श्रेष्ठले भन्नुभयो, “दलीय रूपमा कुनै दलबाट प्रतिनिधित्व गर्दै मन्त्री भए पनि काम गर्ने मामिलामा सरकारले दलीय भाव राखेको छैन ।”

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले कानेपोखरी गाउँपालिकाका समस्या समाधान गर्न सबै दलका प्रतिनिधि एकै ठाउँमा उभिएकाले जग्गाधनी प्रमाणपत्र वितरण सम्भव भएको बताउनुभयो । मौलिक हकमा व्यवस्था भएको विषयलाई राज्यले क्रमशः सम्बोधन गर्दै जानुपर्ने उहाँले चर्चा गर्नुभयो ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङनामको सभापतित्वमा भएको कार्यक्रममा आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्का, जिल्ला अध्यक्ष सुशीला घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी लगायतले भूमिहीनका समस्या साधनमा जोड दिनुभयो ।