सगरमाथामा आरोहीको भीडले जाम , छ दिनमा ८८ जना शिखरमा


सन्तोष राउत

 

सोलुखुम्बु, जेठ ४ गते । यस वर्षको सगरमाथा आरोहण यही वैशाख २९ गते अर्थात् मे ११ बाट शुरु भएसँगै यस अवधिको छ दिनमा ८८ जना स्वदेशी तथा विदेशी आरोहीहरुले सगरमाथा शिखरको सफल आरोहण गरेको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बेसक्याम्पबाट जानकारी दिनुभयोे ।

यसरी लगातार आरोहण सफल भएको यो पहिलो पटक भएको अधिकृत श्रेष्ठले बताउनुभयो । पहिलो दिन  मे ११ का दिन बाटो बनाउने तथा डोरीलगायतका आधार तयार गर्ने क्रममा नौ जना नेपालीले सगरमाथाको सफल आरोहण गरेका थिए भने दोस्रो दिन अर्थात मे १२ मा तीन जना विदेशी र तीन जना नेपाली आरोहीहरुले सगरमाथाको सफल आरोहण गरेका छन् ।

त्यस्तै, मे १३ मा १४ जना नेपाली र १४ जना विदेशी, मे १४ मा दुई नेपाली सहित एक जना विदेशी, मे १५ मा १३ जना नेपाली र नौ जना विदेशी, मे १६ मा ११ नेपाली र नौ जना विदेशी आरोहीहरुले सगरमाथाको सफल आरोहण गरेको अधिकृत श्रेष्ठले बताउनुभयो । मङगलबार सातौँ दिन भने हावा चलेकाले कुनै आरोहीले सगरमाथाको शिखर चुम्न नपाएको उहाँको भनाइ छ । सगरमाथा आरोहणको मुख्य सिजन शुरु भएसँगै शुक्रबार भने आरोहीको संख्या बढेको छ ।

यस सिजनमा एक नेपालीसहित २८९ जनाले आरोहण अनुमति लिएर चुचुरोमा पुग्न प्रयासरत छन् भने करिब चार सयको हाराहारीमा आरोहण सहयोगीका रुपमा शिखरमा पुग्ने तयारीमा छन् । मे महिनाभरी सगरमाथालगायतका हिमाल आरोहण गरिन्छ । यस पटक मौसम राम्रो भएकाले सबै आरोहीले सफल आरोहण गर्ने अपेक्षा गरिएको छ ।

सगरमाथाको शिखर चुम्नको लागि आठ हजार मिटरमा रहेको सगरमाथाको अन्तिम क्याम्प चार वा सगरमाथाको दक्षिणी मोहडामा सबै आरोहीहरु पुसिकेका छन् र प्रत्येक दिन रातको ८ देखि १२ बजेसम्म पालैपालो शिखरतिर जाने अधिकृत श्रेष्ठले बताउनुभयो । प्राकृतिक विपत्तिका कारण दुई वर्षपछि भएको सफल आरोहणबाट विश्व समूदायमा सकरात्मक सन्देश जाने पर्यटन व्यवसायीहरुको भनाइ छ ।

सन् २०१४ मा हिमपहिरो र २०१५ मा भूकम्पका कारण आरोहण स्थगित भएपछि यस बर्ष आरोहीहरुमा  बिशेष रौनक देखिएको बताइएको छ । बर्षको दुईपटक आरोहणका लागि खुल्ला गरिए पनि हिमाल आरोहीहरुले सगरमाथा आरोहणका लागि बसन्त ऋतुलाई नै बढी रोज्ने गरेको पाइएको छ ।

यस पटक सगरमाथामा आरोहीहरुको भीडले बाटो जाम हुन नदिन बिशेष ब्यबस्था मिलाइएको छ । अघिल्लो आरोहण समयहरुमा ब्यबस्थापनको अभावले चुचुरोमा पुगेर फर्केने र जाने आरोहीहरुको भीडले घण्टौँसम्म जाममा पर्नुपर्ने अवस्था थियो । यस बर्ष आइसफल डाक्टर र आरोहण सहयोगीहरुलाइ बिशेष रुपले खटाइएकाले ट्राफिक जामको अबस्था सिर्जना नहुने उहाँको भनाइ छ । दुई बर्षपछि भइरहेको आरोहणमा सफलता भएकालेसगरमाथा आधारशिविर क्षेत्रमा खुसियाली छाएको बताइएको छ । आरोहणको तयारीमा रहेको आरोही, सहयोगी, एक्सपीडिशनका ब्यक्तिहरु, कर्मचारीलगायतमा खुशीयाली छाइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना