• ६ चैत २०८०, मङ्गलबार

मोरङमा ३६ भूमिहीन दलित र सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण

blog

काठमाडौं, भदौ २९ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र दलित गरेर ३६ वटा लालपुर्जा वितरण गर्नु भएको छ ।

बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सुकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्नुभएको हो । 

मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनः नापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपुर्जा वितरण गरिसक्ने गरी काम तीव्र पारिएको भन्दै २ वर्षभित्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिबद्धता पुरा गरिछाड्ने बताउनुभयो ।


मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने पनि जिकिर गर्नुभयो ।

अहिलेको अवस्थामा गरिब पहिचान गर्ने र पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्यसुविधा परिचयपत्र दिने र राज्यसुविधा परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिब तथा विपन्न लक्षित सेवा सुविधासँग आबद्ध गर्ने काम अगाडि बढाइएको पनि उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले भएका स्रोत र साधनको समुचित प्रयोग गरी कृषि योग्य भूमिको उत्पादन र उत्पादकत्व बढाई सहकारीमार्फत प्रतिस्थापन गर्ने र सम्भव भएसम्म निर्यातलाई प्रवर्द्धन गरेर देशमा रोजगारी सिर्जना गरेर गरिबी निवारण गर्ने गरी योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो ।