• ६ चैत २०८०, मङ्गलबार

पाकिस्तानमा चौबीस घण्टायता वर्षा र बाढीबाट चवन्नको मृत्यु

blog

इस्लामावाद, भदौ २९ गते । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घण्टायता मात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरू कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ ।

एनडिएमएले मङ्गलबार प्रकाशन गरेको एक तथ्याङ्कमा सो कुराको जानकारी दिइएको हो । मङ्गलबार रातिसम्म बाढीमा परेर ५४ जनाको ज्यान गएको  र अरू छ जना घाइते भएका सो संस्थाले जनाएको छ । बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ । सिन्धमा मङ्गलबार मात्र ४४ जनाको ज्यान गएको हो । तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ ।

यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौँलाख नागरिक घरबिहनी भएर आश्रय लिइरहेका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पन्जाब प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरू बाढीको चपेटमा परेका छन् ।

बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरूले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा