• ६ चैत २०८०, मङ्गलबार

दक्षिण भारतको सिकन्दराबादको होटलमा आगलागी, आठ जनाको मृत्यु

blog

नयाँदिल्ली, भदौ २८ गते । भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद सहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । दुई वटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष रहेको बहुतले उक्त होटलमा आगो लाग्दा त्यहाँ राखिएका सबै मोटरसाइकल जलेका छन् । आगलागीको कारण खुलेको छैन ।

स्थानीय वारुणयन्त्रका एक जना अधिकारीले आठ वटा शव होटलको भवनबाट निकालेको र सात जना घाइतेलाई अस्पताल भर्ना गरिएको बताएका छन् । होटल भवनको सबैतिर मानिस भएनभएको खोजी गरिएको र आगो पूर्णरूपमा निभाइएको उनले बताए ।  रासस/सिन्ह्वा