• ६ चैत २०८०, मङ्गलबार

सुकुम्बासीलाई लालपुर्जा वितरण

भूमिहीन सुकुम्बासी समस्या प्राथमिकतामा

blog

जीवछ यादव

लहान, भदौ २८ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीन र सुकुम्बासी समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ। धनगढीमाई नगरपालिकाको विकट र दुर्गम मानिने वडा नम्बर १३ मा आइतबार लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

मुलुकमा गणतन्त्र स्थापना भइसकेपछि राजनीतिक परिर्वतनको अध्याय सकिएको भन्दै मन्त्री श्रेष्ठले “अब समृद्धि र विकासको लागि भूमिहीन सुकुम्बासीलाई आत्मनिर्भर बनाउन लालपुर्जा वितरण गर्न लागिएको हो,” भन्नुभयो।  

“आफू मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पचास हजार भूमिहीनलाई लालपुर्जा वितरण गरिसकेका छौँ। लालपुर्जा वितरण कार्यका लागि चुनावी आचारसंहिताले रोक्ने छैन। भूमिहीन सुकुम्बासीको समस्या समाधानको लागि वर्तमान सरकार कटिबद्ध रहेकोले ७७ वटै जिल्लामा लालपुर्जा वितरण कार्य भइरहेको छ,” उहाँले भन्नुभयो। गाउँ ब्लक, पुनः नापी र विशेष नापीबाट ४१ हजारभन्दा बढी र राष्ट्रिय भूमि आयोगबाट करिब एक हजार घरपरिवारलाई समेत लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो। “नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी दुई वर्षभित्र भूमिसँग जोडिएको सबै समस्या समाधान गर्ने जनाएकोले सोहीअनुसार मन्त्रालय काममा सक्रिय रहेको छ,” उहाँले भन्नुभयो। 

कार्यक्रममा धनगढीमाई नगरपालिका प्रमुख शिवशङ्कर महतोले यस नगरपालिकाको ११० भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर सरकारले सराहनीय कार्यको सुरुवात गरेको भन्दै नगरपालिकामा रहेको अन्य वडाको भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण चाँडै हुनुपर्ने भन्दै ध्यान आकर्षित गराउनुभयो। 

भूमिहीन र सुकुम्बासी समस्या साझा समस्या भएकोले यस कार्यलाई सबै राजनीतिक दलले सघाउनुपर्ने नेपाली कांग्रेस सिरहाको सभापति रामचन्द्र यादवले भन्दै नेपाली कांग्रेस गरिब विपन्न, भूमिहीन र सुकुम्बासीको पक्षमा काम गरिरहेको तर्क गर्नुभयो। पुस्तौदेखि लालपुर्जाविहीन भएर बस्नुपरेको धनगढीमाई–१३ का सुन्दरवीर तामाङले लालपुर्जा पाएको यस क्षणमा असाध्यै खुसी भएको बताउनुभयो। आफ्नो नाममा जमिनको लालपुर्जा भएपछि आत्मगौरव बढेको लालपुर्जा प्राप्त गरेका भूमिहीन सुकुम्बासीले खुसी व्यक्त गरेका छन्।